नासपाती कुहिँदा किसान मारमा

खोटाङ टुडे  संवाददाता

साउन २९,

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले छत्रेटारका किसान तेजबहादुर राईले १२ वर्षअघि किर्तिपुर काठ्माण्डौंबाट जापानिज नासपाती ल्याएर बगानमा रोपे । रोपेकामध्ये बाँचेको १२ बोटमा लटरम्म जापानिज नासपाती फल्न थाल्यो । तर, बोट नुहिने गरी फलेको जापानिज नासपातीले बजार नपाउँदा उनी निराश छन् । बजार नपाउँदा हरेक वर्ष उनको बगानको जापानिज नासपाती कुहिएर खेर जाने गरेको छ । तेजबहादुरले ३० रोपनी क्षेत्रफलमा जापानिज नासपातीसँगै ३ सयबोट सुन्तला, जुनार, ५० बोट किबी, १२ बोट लिची, आँप, भुँई स्याउ, कागती, अनार, निबुवा, बुद्धचित्त, घिउफल, अम्लिसो, तेजपत्ता लगायतको खेती लगाएका छन् । फलफुल खेती गरिरहेका स्थानीय फडिराज तिम्सिना, राजन राई, चन्द्रमणी राई, नरमणी बञ्जराको समस्या पनि तेजबहादुरकोभन्दा फरक छैन । ‘लटरम्म फलेको नासपाती हेर्दा रहर लागेर आउँछ,’ राईले भने, ‘तर कुहिएर खेर जाँदा भने मन अहिलो हुन्छ । के गर्ने बिक्री गर्ने बजार छैन । खाएर सकिन्न ।’
बजार अभावमा खोटाङका अधिकांश किसानले उत्पादन गरेको नासपाती खेर जाने गरेको छ । जापानिज, लोकल लगायतका जातको नासपाती प्रशस्त मात्रामा उत्पादन भएपनि बजार अभावमा कुहिएर बगानमै नष्ट हुन्छ । घरमा उपयोग गरेर र बिक्री भएर नसकिने कतिपय नासपातीको दाना बंगुरलाई चारो खुवाउने गरिएको छ । दिक्तेल, लफ्याङ, बाँझेच्यानडाँडा, रतन्छा, खिदिमा, कुभिन्डे, टेम्मा, पाथेका, हलेसी, लगायतका वडामा उत्पादित नासपातीले मूल्या नपाउँदा खेर जाने गरेको कृषि बिकास कार्यालयले जनाएको छ । व्यवसायीकरुपमा नभए पनि जिल्लाका अधिकांश ठाउँमा नासपाती खेती हुँदैआएको छ । केही मात्रामा स्थानीय हाटबजारमा बिक्री भए पनि बाँकी रहेपछि खेर जाने नासपाती बंगुरलाई खुवाउने गरिएको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा मबुका युवा किसान संग्राम राईले बताए ।

 

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको नासपातीको खेतीयोग्य जमिन २६० हेक्टरमध्ये १५५ हेक्टर क्षेत्रफलमा बार्षिक १ हजार ५५० मेट्रिक टनको हाराहारीमा नासपाती उत्पादन हुने गरेको छ । उल्लेख्य मात्रामा नासपाती उत्पादन भए पनि किसानले आम्दानी लिन सकेका छैनन् । भरपर्दो सडकको सुविधा नभएका कारण हालसम्म जिल्लामा उत्पादित नासपाती अन्यत्र निर्यात गर्न नसकिएको किसानको भनाई छ । खपत नहुँदा कुहिएर नष्ट हुने भएपछि अधिकांश नासपाती बंगुरलाई चारो खुवाउने गरिएको किसानको भनाई छ ।
हिजोआज नासपातीका अधिकांश बोट फलले नुहिएको छ । एउटै बोटमा हाँगो नुहाउने गरी लटरम्म फल्ने नासपाती किसान आफैले खाएर सिध्याउँदैनन् । स्थानीय बजारमा पनि नासपातीले सिजनका बेलामा अन्य फलफूलको तुलनामा कम मूल्य पाउने गरेको छ । लटरम्म फल्ने र पाकेपछि झरेर खेर जाने नासपातीलाई कतिपय किसानले रक्सी बनाउन प्रयोग गर्ने गरेका छन् । प्रशोधन गरेर नासपातीबाट जुस बनाउन सकिन्छ तर जिल्लामा त्यसको व्यवसायीक अभ्यास हुन सकेको छैन । ‘बजार अभावमा नासपाती पाक्छ, झर्छ, कुहिएर जान्छ,’ संग्रामले भने, ‘सुँगुर पालिएका घरमा भने झरेका नासपाती सुँगुरलाई दिने गरिएको छ ।’ गर्मी याममा शितलता र तिर्खा मेटाउनकालागि नासपाती सेवन रुचाउने गरिन्छ ।

 

पछिल्लो समय सडक बिस्तारका कारण नासपाती निर्यात गर्ने र आम्दानी गर्ने बाटो खुल्नेक्रम जारी छ । कुहिने समस्या र रोग नदेखिएका कारण जिल्लामा नासपातीको सम्भावना उत्तिकै राम्रो छ । दशैँ, तिहार र छठका समयमा तराईमा फलफुलको अधिक माग हुन्छ । चाडबाडका समय नासपातीलाई तराईसम्म पु¥याउन सके प्रतिवटा १० रुपैयाँमा बिक्री हुने सम्भावना भएपनि यातायातको भरपर्दो व्यवस्था नहुँदा किसानको श्रम खेर गइरहेको छ ।