सहिद, सहिद सप्ताह र अपमान

कृष्णबहादुर बुढाथोकी

माघ २४ बिहिवार, २०७५

ऋतु, महिना र दिन, बार घुमीफिरी उस्तै आउने रहेछ । मौेसम आएपछि फूलहरुले पनि पुनर्जीवन पाएर मुस्कुराउन पाउने रहेछ । तथापि मानव जीवन कुनै ऋतु, महिना, दिन बारमा घुमेर आउदा पनि फूल झैं मुस्कुराउन नपाउने विधाताको विधानमा व्यवस्था गरिएछ । यसै महत्वको महिमा बुझ्नेहरुले जीवन अमर बनाउने मार्ग रोजेका रहेछन् । केवल जीवनका दुई मार्ग मौजुदा रहेछन् ः कृतिमार्ग र वृत्तिमार्ग । वृत्तिमार्गको यात्रामा हेलिनेहरु अज्ञात सुरुङको अन्धाकारमा विलय हुने र जीवनको समाप्तिसँगै गुमनाम बन्नुपर्ने रहेछ । कृति मार्गमा यात्रा गर्नेहरु दिगान्तसम्म चिरन्जीवि हुने रहेछन् । सबैको मनमष्तिष्कमा बास गर्ने रहेछन् । उनीहरुको लगनी, त्याग र बलिदानीबाट देवनागरि लिपिको जेठो वर्ण अभावको ‘अ’ भागेर कल्याणको ‘क’ ले साम्राज्य चलाउने रहेछ ।

प्रकृतिमा एक पटक पाइने मानव जीवनमा अमरत्व पाउनका लागि गरिने कार्यहरु कृति रहेछन् । जसले पछिल्लो मानव समाज र समस्त प्राणी जगतको कल्याण गर्दो रहेछ । सांसारिक विपत्तिबाट प्राणी मुक्ति गर्ने अनेकन मार्ग छन् तापनि सबैले रोज्ने मार्ग फरक फरक हुन्छन् । यस कल्याणकारी मार्गमा जाने मानिसहरु अति कम देखिन्छन् र त्यस बेला उनीहरु निकम्मा र अराजक मानिन्छन् ।

कुनै समय निकम्मा र अराजक भनिएका र मानव कल्याण्को बाटोमा समर्पित एकथरी मानिस हुन् सहिद । सहिद (अ.ना.)शव्द आफैंमा गर्व लाग्दो देखिन्छ । अरबी मूल नाम शव्दबाट नेपालीमा रत्तिन आएको यस शव्दको अर्थ “आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोक हितमा लाग्ने, अमर व्यक्ति” भनी नेपाली वृहत्त शव्दकोशले अथ्र्याएको छ । यस आधारमा देश, संस्कृति र स्वतन्त्रता तथा आजादीका लगि हाँसी हाँसी जीवनको आहुति गर्ने, निष्कपट, निस्वार्थ र निष्कलङ्क व्यक्ति शहिद हो भन्न सकिन्छ ।

सहिद जसले देशलाई निरङ्कुशताबाट प्रजातन्त्रमा, तानाशाहबाट स्वतन्त्रतामा, असमानताबाट समानतामा, अनेकताबाट एकतामा, एकलबाट बहुल शासन सत्ता स्थापना गर्न, अन्याय र अत्याचारको विरुद्धमा न्याय र सदाचार स्थापना गरी सभ्य आधुनिक र समतामूलक समाजको स्थापनाका लागि घोर विप्लव गरे । यही विप्लवका मारे सत्ता जगेडा गर्न चाहने समूहले अराजक र निकम्मा घोषणा गरी नियमन र नियन्त्रण गर्ने नाममा फाँसी दिने, गोली हान्ने, हिंस्रक जनावारको सिकार बनाउने धम्की दिई जीवन दान माग्न लगाउँदा पनि आफ्नो अडानमा अटल भई शासकले दिने प्राणदण्डको निर्णय स्वीकार गरी देश र जनताको खुशि र सुखका लागि जीवनको कुर्वानी गरे । आफू मरेर अरुलाई खुशि र आनन्दका क्षण आह्वान गर्ने महामानव सहिद हुन ।

ती महामानवहरुले जीवन, परिवार, पैतृक सम्पत्ति, पद प्रतिष्ठा, सत्ता, भत्ता आदिको पर्वाह नगरी निसंकोच परिवर्तनका निमित्त आफूलाई सर्मण गरे । अन्याय, अत्याचार, थिचोमिचो, शोषण, दमनका विरुद्ध आवाज बुलन्द गरे । गलामा फाँसीको डोरी, छातीमा बन्दुकका गोली, शरीरमा कोर्राको वर्षा हुँदा समेत राष्ट्र र जनताका आजादीका लागि आत्म समर्पण नगरी तातो र रातो रगत बगाए । धर्तीमातालाई रगतको लालीमायुक्त रङ्गले सिंचित गरे । देश र जनताको समुन्नती, सुखी र समृद्ध समाज, शोषण र अत्यचारको अन्त्य जस्ता सुन्दर सपना सजाएका थिए ।

राज्यबाट राक्षसी हर्कत ईतिश्री गर्न हरेक सत्ताधारी सामन्तवाद, परिवारवाद, नातावाद, फरियावाद, आत्मसमर्पणवाद, मनोवाद तथा स्वैच्छाचारितको खिलाफमा जीवन आहुति गरे, सर्वस्वहरण, जन्मकैद र देश निकालासमेतका यातना भोगे । यही देशका लागि भीमसेन थापा जेलमा सेरिए, कोत र भण्डारखाल पर्वमा सैयौं देशभक्त भारदारको एक चिहान भयो । सोझो नागरिक लमन थापाले गोली खानु प¥यो । ज्ञानदिलदासजस्ता विचारक, समानता र रुढीवादविरोधी विद्वान जोगी बने । राजा राजेन्द्र विक्रम वेतिया पुगे । शुक्रराजदेखि गंगालालसम्मका देशभक्त युवाहरु फाँसीमा लड्किए । सुखानी र खुकु छिन्ताङमा रक्तकुण्ड बनाइयो र रगतमा होली खेलियो ।

२०५२ देखि २०६२ सम्म र त्यसपछिका कचिंगालमा ज्यान गुमाउनेहरुको त तथ्यांक पढ्न साताको समय लाग्ला । यी सबै देशको आन्तरिक अवस्थाको सुधार गर्न र शासक र चम्चाहरुमात्र होइन जनताले पनि सुविधा पाउन पर्छ भनेर लडे, जसलाई आज ज्ञातअज्ञात सहिद भनी एकै डालोमा थुपारिएका छ भने वर्षमा एक दिन एउटा माला लगाइदिने र मनले नमाने पनि लोकलाई देखाउन वाध्यतावश दश डुडुला जोडेर भाग्ने संस्कार तोडिएको छैन । चार सहिदले पाएको ढाेंगी माला हेरेर लाखौं सहिद र विचल्लीमा परेका तिनका परिवारले मन बुझाउनु परेको छ ।

हरेक वर्ष माघ १० गतेदेखि एउटा पर्वको हुईंया पिटिन्छ, सहिद सप्ताह भनेर । बालिन्छ केवल बाध्यताले एक, दुई बत्तीहरु । रातो कार्पेटमा टेकेर चार सहिदका सलिकमा ओइलाएका माला र एक चिम्टी अविर चढाइन्छ । यसबाहेक बढी केही हुदैन । हुन्छ त बरु टुडीखेलमा उत्सव, खेल तमासा र खुशियाली । सहिदको कुर्वानी भएको सम्झनामा शोक मनाउनु पर्ने हो तर उत्सव गरिन्छ, खुशियाली मनाईन्छ । हिजो राजा र राजतन्त्रमा यसै गरिन्थ्यो । गणतन्त्रमा पनि त्यो संस्कार फरिएन । उही तामझाम, उही कार्पेट, उही सलामी, त्यस्तै मलामी र उस्तै भोजभतेर र आतसवाजी । यो शोकको समय हो वा खुशियालीको अन्योल यही छ ।

करोडौंको खर्च गरेर सहिदको मृत्युको खुशियाली मनाइरहेको बेला त्यही सहिद परिवार भोकै छ, अन्यायमा पिरालिएको छ, कसैलाई सोच्ने फुर्सद हुदैन । जसले विकृति र विसंगतिको विरोधमा मृत्यु वरण ग¥यो, उसकै समाज र परिवार विसंगतिको भासमा पर्छ भने सहिद सप्ताह र सहिद दिवस कति सार्थक होला । सहिदको सम्मान होला कि अपमान । सहिदको सच्चा सम्मान त त्यहाँ होला, जहाँ उसले खनेको बाटोमा राजनीतिको गाडी गुडोस् । सबैलाई उन्नतिको शिखरमा चढाओस् । विकृति र विसंगतिको नामेट गरी समतामूलक र न्यायपूर्ण समाज निर्माण गरोस् । रोग, भोक र अशिक्षाबाट मुक्त गरी नातावादी, कृपावादी फरियावादी, चाकरी, चाप्लुसी, आदि कुसंस्कारको समुल नष्ट गरोस् । सामन्त, दलाल र माफियामुक्त राज्य स्थापना होस् । केवल यही प्राप्तिका लागि सहिदले रगत बगाए । हामीले साता दिनसम्म सहिदको सम्झना ग¥यौं, सहिद सप्ताह मनायौं तर कर्तव्य पालना भयो भएन सिंहावलोकन गर्ने फुर्सद निकालेनौं, विचार, विमर्ष र चिन्तन गरेनौ ।

सहिद शव्दलाई ज्यादै अपकर्ष गरिएको छ । सिर्फ ट्रेड मार्कको रुपमा राखिएको भान हुन्छ भन्दा असहज नहोला । आज आफ्नो झुटको सगरमाथा उभ्याउने ठेकेदारहरुले सहिदको पवित्र कार्यलाई धर्म, जात, भूगोल आदि सँग जोडेर अपवित्र बनाउने काम गरेको देखिन्छ । सहिद न कुनै जातको हुन्छ, न कुनै धर्मको हुन्छ, न कुनै भूगोल वा वर्णको हुन्छ ।
विश्वव्यापी, सर्वपक्षिय र सम्पूर्णताको प्रतीक हुन् सहिद तथापि उनीहरुको मानमर्दन गरिएको छ, मूल्य तोकिएको छ । कोत, भण्डारखाल, पुस्तकालय, सुखानी, छिन्ताङ आदि काण्डहरुमा ज्यान गुमाउनेहरुको मात्र होइन २०४६ सालको जन आन्दोलन र २०५२ बाट शुरु भएको माओवादी जनयुद्धका समयमा मारिएका र वेपत्ता पारिएकाहरुको कुनै लेखाजोखा छैन । अझ गनी साध्य र भनी साध्य पनि छैन । जसले राज्य विप्लवको ज्वालमा जीवन जलाए उनीहरुको खोजखबर गर्न, परिवारजनको जीविकोपार्जनको चाँजो मिलाउन ध्यान दिइएको छैन । अभिभावक गुमाएका, सिन्दुर पुछिएका, काख रित्तिएकाहरु आज पनि तड्पिएका छन, आश्रयहीन र अपहेलित छन् । जसको बलिदानीले कसैलाई सत्तामा छिरायो, मान पदवी दिलायो, उसको परिवार समस्याको ज्वालामा जल्नु विडम्वना हो । बेइमानी र अपमान हो ।

सहिद नामको महत्तालाई कित्ताबन्दी गरियो, गरिंदैछ र गरिइरहने देखिन्छ । कोही मधेसका, कोही पहाडका, कोही हिमालका सहिद भनेर मोलमोलाई गरियो । भनियो, हाम्रो सत्ता आए (५०) पचासलाख दिन्छौं, आऊ सहि द बन भनी सहिदको भाडा (५०) पचास लाख तोकियो । के सहिदको मूल्य त्यही हो त ? हाम्रो आन्दोलनमा नआए पछि हिसाव किताब गरिन्छ भन्ने दवाव दिईयो । के जबरजस्त मारिएका र मर्न लगाइएकाहरु सहिदको स्थानमा राख्न सकिन्छ त ?

पछिल्लो समयमा राज्यले गर्ने बथितिको विरोधमा आउने सर्वसाधारणलाई गोली हानिन्छ र (१०) दसलाख नगद क्षतिपूर्ति दिई सहिदको दर्जा दिने चलन छ । यदि उ सहिद हो भने उसको मूल्य दसलाख हो त ? यी र यस्तै विकृतिले सहिदको सुनौलो चमकमा खिया लागेको छ । अनमोल लगानीको अवमूल्यन भएको छ र प्रश्न जन्मिएको छ ः सहिदको मूल्य पचास लाख वा दसलाख ? जसले आनन्दको आलोक दिन प्राण आहुति गरे, विकृति र विसंगतिको विरुद्धमा लडे र देश, समाज र संस्कृतिको धब्बा पखालेर पवित्र बनाए उनकै नाममा मालमोलाइ गरेर बदनामी बनाउन थालियो । अनमोल लगानीको मोल तोकिनु विडम्बना हो ।

निहित स्वार्थका लागि सहिदलाई दलको पासपोर्ट भिराउने, भूगोल र जातको सहिद बनाउने कार्यले सहिद महत्तालाई निस्तेज बनाउन थालेको छ । कुनै दल, जात र भूगोलको आजादीका लागि उनीहरुको लगानी होइन । बुझ्न जरुरी भयो कि शासकीय सन्त्रासको समाप्तिका लागि बगाएको रगतको अपमान र त्यागको अवमूल्यन सहिदप्रतिको सच्चा न्याय होइन ।

जुन बेथितिका विरुद्ध सहिदले जीवन दान गरे त्यही परम्परा कायम गर्नु र त्यसमै लिप्त हुनु हाम्रो कृतघ्नता हो । सच्चा सम्मान त त्यो हो, विभेदको उन्मूलन गरी समतामूलक समाजको स्थापना गर्नु, भ्रष्ट माफियाहरुको सफाय गरी शोषित, पीडित जनताको पक्षमा उभिनु, शासक निर्देशित राज्य सत्ता विघटन गरी जनता निर्देशित राज्य व्यवस्था कायम गर्नु, राष्ट्रिय आयको समान वितरण र समान पहुचको व्यवस्था गर्नु ।

पूँजी र पहुचको भरमा सामन्तलाई काखी च्यापेर गरिब माथि बुट र लाठी बजार्ने, अन्याय र शोषणलाई प्रश्रय दिने अनि वर्षमा एकपटक एक चिम्टी अविर र दुई थुँगा फूल सिउरेर सहिदको सम्मान हुदैन । हरेक परिवर्तनभित्र सामन्तवादको अवशेष रहने र जनताले सामान्य अधिकारको लागि सडकमा ताडफोड गर्न बाध्य हुनुपर्ने हो भने यहाँ सहिद र सालिकको देश बन्नसक्छ । सहिद प्रतिमामा माला चढाउँदै र सहिद गाथा गाउँदैमा उनीहरुको आत्माले शान्ति पाउने छैन । यसका लागि इमान्दार भएर उनीहरुले देखाएको बाटोमा हिड्न र हिडाउन पर्छ भने स्वार्थको पर्खाल भत्काएर निस्वार्थताको मैदानमा भेला हुनुपर्छ । ( लेखक बुढाथोकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ बुवालुङ खोटाङका स्थानीय हुन् ।) अस्तु