गाउँ प्रहरी भर्ना गर्दै ऐसेलुखर्क गाउँपालिका

माघ २५ शुक्रवार, २०७५
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले गाउँ प्रहरी भर्नाको प्रकृया सुरु गरेको छ । दैनिक कार्य सम्पादनकाक्रममा आवश्यक परेको ठाउँमा प्रयोग गर्नेगरी गाउँपालिकाले जिल्लामै पहिलोपल्ट गाउँ प्रहरीको भर्ना खुलाएको हो । ३ जना पुरुष गाउँ प्रहरी भर्नाका लागि गाउँपालिकाभित्रका नागरिकबाट आवेदन आव्हान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।

ऐसेलुखर्कबजारका सडक पेटीमा जथाभावी राखिएका विक्रीका सामग्री हटाएर बजार व्यवस्थित गर्न, विद्यालय क्षेत्रमा सवारी साधनको गति सिमित गर्न, क्षमताभन्दा बढि लोड बोकेर गाउँपालिका प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई निगरानी गर्ने लगायतका प्रयोजनका लागि गाउँ प्रहरी भर्ना खुलाइएको हो ।

नेपाली सेना र नेपाल प्रहरीमार्फत गाउँ प्रहरी छनौट गर्ने र तालिम पनि उनीहरुमार्फत नै दिलाउने गाउँपालिकाको योजना छ । छनौटपछि सामान्य तालिम, उनीहरुको क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार बारे जानकारी दिएर ड्यूटीमा परिचालन गरिने गाउँपालिका प्रमुख निरौलाले बताए ।

गाउँपालिकाभित्रको नेपाली नागरिक भएको, १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको, कम्तीमा ८ कक्षा उत्तिर्ण भएको, शारिरीकरुपमा स्वस्थ र काम गर्न सक्ने प्रमाणित भएको, कुनै पनि गैर–कानूनी काममा संलग्न नभएको, घटीमा ५ फिट २ इन्च उचाई र कम्तीमा ५० केजी तौल भएको मापदण्डका आधारमा गाउँ प्रहरी छनौट गरिने निरौलाले बताए ।

गाउँ प्रहरीको मासिक तलव भने मासिक साँढे १२ हजार तोकिएको सूचनामा उल्लेख छ । गाउँप्रहरीका लागि फागुन ७ गतेसम्म आवदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।