रावाबेँसी गाउँपालिकामा पालिकास्तरिय वृहत कृषि मेला प्रदर्शनी

माघ २५ शुक्रवार, २०७५
खोटाङ । कृषि पेशाको सम्मान तथा किसानको प्रोत्साहनका लागि खोटाङको रावाबेँसी गाउँपालिकामा पालिकास्तरिय प्रतियोगीतात्मक बृहत कृषि मेला प्रदर्शनी गरिएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेमा बिहिबार र शुक्रबार कृषि मेला प्रदर्शनी गरिएको हो । गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्दै आएका कृषकलाई प्रोत्साहित गर्नका लागि कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए ।

कृषि मेलामा विभिन्न ठाउँका किसानले तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली, दलहन तथा तेलहन, नगदे बाली, जरे बाली र विविध बाली प्रदर्शनमा राखिएको थियो । बृहत कृषि मेला प्रदर्शनीमा कुभिन्डे, खार्पा, लामीडाँडा, धारापानी दुबेकोल र हौंचुरका १ सय ७ किसानले एकैथलोमा ३ सय ५४ थरिका कृषि उपज प्रदर्शनीमा राखेको आयोजकले जनाएको छ । दुई दिनको अवधिमा पाँच सयभन्दा बढि स्थानीले वृहत कृषि मेला प्रदर्शनी अवलोकन गरेका छन्।

कृषि मेला प्रदर्शनी समापनको अवशर उत्कृष्ट २७ किसानलाई विभिन्न विद्यामा पुरस्कार प्रदान गरिएको छ । प्रत्येक ७ बाली समुहका प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त किसानलाई जनही ६ हजार, ४ हजार, ३ हजार र १ हजार ५ सयका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

उत्कृष्ट किसानलाई गाउँपालिका प्रमुख लिलानाथ निरौला र घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष रामकुमार राईले पुरस्कार प्रदान गरेका हुन् । सहभागी अन्य किसानलाई पनि प्रमाणपत्रका साथमा ५ सय प्रदान गरिएको जनाइएको छ । कृषि पेशाको व्यवसायिकरण गर्दै कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्नका लागि कृषि मेला प्रदर्शनीलाई निरन्तरता दिइने कृषि शाखा संयोजक राईले वताए ।