वर्तमान मन्त्रिमण्डल भ्रष्टहरुको क्लबजस्तै भयो : गगन थापा

माघ २६ शनिवार, २०७५
गोरखा । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले वर्तमान मन्त्रिमण्डल भष्ट्रहरुको क्लब जस्तो भएको टिप्पणी गरेका छन्। कांग्रेस गोरखाले शनिबार गोरखा सदरमुकाममा गरेको सुशील कोइरालाको चौथो स्मृतिसभा एव वर्तमान राजनीतिक अवस्थाबारे विचार गोष्ठीमा उनले अहिलेको दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका हुन्।

विमान खरिद गर्दा भ्रष्टाचार, विदेश जाँदारआउँदा भ्रष्टाचार, नागरिकले सेवा लिनेरदिने ठाउँमा, हरेक मन्त्रालयमा भ्रष्टाचार छ’, थापाले भने, ‘प्रधानमन्त्रीको मातहतै भ्रष्टाचार भएको छ, सिंगो पार्टी भ्रष्टाचारमा संस्थागत रुपले लागेको छ।’ पाइलैपिच्छे भ्रष्टाचारको नमुना सरकारले देखाएको उनले बताए। ‘प्रधानमन्त्री आफैं भ्रष्टाचारीका नेतृत्वकर्ता हुन्।’ थापाले कांग्रेस कार्यकर्तालाई सरकारले गरेको नराम्रा कामको भण्डाफोर गरी गाउँ गाउँ पुग्न निर्देशन दिए।

सरकारको कामप्रति आक्रोशित हुँदै उनले थपे, ‘हेर्दाहेर्दै नेपाल डुब्न लाग्यो, आर्थिक संकट सुरु भइसक्यो। लगानी गर्ने वातावरण छैन, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रदै गएको छ, शान्ति सुरक्षाको अनुभूति दिलाउन सकेन।’ वर्तमान सरकारले अदालत, अख्तियार, लोकसेवा सबैमा हस्तक्षेप गरेको उनको आरोप थियो। दुई तिहाईको दम्भ देखाएर सरकारले तानशाह प्रस्तुत गरेको भन्दै उनले सरकारले आवश्यक कानुन, ऐन नियम नबनाउँदा प्रदेश सरकार पंगु भएको र स्थानीय सरकार बरालिएको बताए।

कांग्रेसका वडादेखि जिल्ला समिति र विजयी भएका जनप्रतिनिधि सहित उपस्थित कार्यक्रममा केन्द्रीय सदस्य थापाले जिम्मेवारीको राजनीति गर्ने पार्टी भएकाले अहिलेको ब्यवस्थालाई दायाँ बायाँ हुन नदिन सरकारलाई सचेत गराउने भुमिकामा रहन सबैलाई अनुरोध गरे। नागरिक न्युज अनलाइनबाट ।