संस्कार संस्कृतिको प्रवद्र्धनका लागि तीज महोत्सवको तयारी

खोटाङ टुडे
२९ साउन,

संस्कार संस्कृतिको प्रवद्र्धनका लागि खोटाङमा बृहत तीज महोत्सवको तयारी गरिएको छ । लोपोन्मुख बनेको संगिनी नाच, मारुनी नाच, पञ्चैबाजा कुसुले नाच, धुपीधुपी नाच प्रदर्शन एबं तीज सम्बन्धी लोकदोहोरी प्रतियोगीता गर्दै तीज महोत्सव गर्न लागिएको हो ।

 

युवापुस्तालाई लोप हुन लागेको संस्कार, संस्कृतिका विषयमा जानकारी गराउँदै संरक्षणका लागि जागरुक बनाउन हरितालिका तीजको दिन पारेर आगामी भदौ २५ गतेदेखि २७ गतेसम्म दिक्तेलमा तीज महोत्सव गर्न लागिएको हो । तीज नजिकीकै गर्दा बहुआयमिक संरक्षण समाज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले भदौ २७ गते पर्ने हरितालिका तीजको दिन पारेर तीज महोत्सवको तयारी गरेको आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विभिन्न जातजातीको भाषा, धर्म, चाडपर्व, संस्कार संस्कृतिको प्रचार–प्रसार गर्दै संवद्र्धनका लागि तीज महोत्सवको तयारी गरिएको बहुआयमिक संरक्षण समाजका अध्यक्ष अनिल आचार्यले बताए । ‘बावुबाजेको अन्त्यसँगै हाम्रो अमूल्य संस्कार–संस्कृति लोप हुँदै गइरहेका छन्,’ पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले भने, ‘लोपोन्मुख संस्कार संस्कृतिको संरक्षणका लागि सवैको ध्यानाकर्षण गराउनका लागि तीज महोत्सव गर्न लागिएको हो ।’

 

महोत्सवको सुरुका दिन दिक्तेलस्थित हेलीप्याडमा ‘खोटाङ जिल्ला दिक्तेल बजार, संस्कृतिलाई जोगाऔं हजुर’ बोलको लोक दोहोरी प्रतियोगीताका साथमा विभिन्न जातजातिको संस्कार र संस्कृतिक भाव झल्किने संगिनी नाच, मारुनी नाच, धुपीधुपी नाच प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवको अन्तिम दिन भने पञ्चैबाजा कुसुले नाच प्रदर्शनका साथमा लोक दोहोरी प्रतियोगीताका बिजेतालाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

 

तीज महोत्सवका लागि समाजसेवी दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा तीज महोत्सव व्यवस्थापन एबं आर्थिक समिति तथा बिन्दा थापाको संयोजकत्वमा महोत्सव मुल आयोजक समिति गठन गरिएको छ ।
लोक दोहोरी प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो समुहलाई छुट्टाछुट्टै क्रमशः १० हजार, ६ हजार ३ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आचार्यले जनाए । संगिनी नाच, मारुणी नाच, पञ्चैबाजा कुसुले नाच, धुपीधुपी नाच प्रदर्शन गर्ने समुहलाई भने प्रोत्साहन रकम प्रदान गरिने बहुआयमिक संरक्षण समाजले जनाएको छ ।