साउदीबाट १८ मृतक परिवारलाई ब्लड मनी

खोटाङ टुडे
२९ साउन,

साउदीअरवस्थित नेपाली दुताबासले साउदीअरबमा सडक दुर्घटनामा ज्यान गुमाएका १८ मृतक नेपालीको परिवारका लागि ब्लड मनी पठाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा ४१ मृतकको ब्लड मनी लाग्ने किसिमका मुद्दा अदालती मुद्दा प्रकृयामार्फत टुंग्याएर मृतकका हकवालालाई उपलव्ध गराउनका लागि नेपालस्थित परराष्ट्र मन्त्रालयमा ट्रान्सफर गरिएको दुताबासले जनाएको छ ।

 

साउदीअरबस्थित नेपाली दुताबासले सुरक्षित आप्रवासन परियोजना (सामी)को दिक्तेलस्थित कार्यालयलाई पठाएको पत्रमा २०६९ साल भदौ २० गते ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका रामनाथ राईको परिवारलाई करिब २२ लाख, २०६९ साल असोज १ गते ज्यान गुमाएका केपीलासगढी गाउँपालिका–१ फेदीका देवराज राईको परिवारका लागि करिब ६ लाख, २०७२ साल साउन २६ गते ज्यान गुमाएका ठेगाना नखुलेका खोटाङकै सन्तोष खत्रीको परिवारका लागि करिब ६ लाख ब्लड मनी पठाइएको उल्लेख छ ।

 

यस्तै, झापाका भिम भट्टराई, धनकुटाका भुपालदेव लिम्बू, रुकुमका रिखु जैसी, तनहुका चित्रवहादुर थापा, सप्तरीका देबेन्द्रप्रसाद राय, गोरखाका एकप्रसाद लामिछाने, सिराहाका जाल मो. रैन, मो. जाहिर मन्सुर, मो.जाहिर मन्सुर, कास्कीका राजुबहादुर कुवँर, सर्लाहीका रामबाबु साह कानु, ललितपुरका रमेश पुलामी, सिराहाका सलिम मियाँ, शिवकुमार यादव र गुल्मीका जयवहादुर सुवेदीको परिवारको नाममा सम्वन्धित पक्षबाट असुल गरी ब्लड मनी पठाइएको दुताबासले जनाएको छ । सन् २०१२ देखि २०१६ का बीचमा सडक दुर्घटनामा ज्यान गुमाउने मृतकको हकवालाको नाममा कम्तीमा ५ हजार साउदी रियलदेखि बढिमा ३ लाख साउदी रियल पठाइएको छ । गाठीले ठक्कर दिने व्यक्तिबाट मृतक परिवारलाई ब्लड मनी प्राप्त भएको सामीकी परामर्शकर्ता अम्विका दाहालले बताईन् ।

 

ब्लड मनी दाबी लाग्ने प्रकृतिका मुद्दामा पीडित परिवारको तर्फबाट दुतावास आफैले घट्ना भएको क्षेत्रको अदालतमा मुद्दा दायर गरेर पैरबी गर्दै क्षतिपूर्ति दिलाएको जनाइएको छ । दुतावासका अनुसार अझै २३ जनाको फैसला अनुरुपको रकम असुल गर्ने प्रकृयामा रहेको पत्रमा उल्लेख छ ।