साप्सु खोला पुल निर्माणमा चरम ढिलासुस्ती

माघ २९ मंगलवार, २०७५
खोटाङ । तेश्रो पल्ट थप भएको म्याद गुज्रिदा समेत खोटाङको रेग्मीटारस्थित साप्सु खोला पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । तेश्रो पल्ट थप भएको म्याद पनि गत मंसिरमै गुज्रिएको सगरमाथा राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडक खण्डको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ वतासे जोड्ने ६५ मिटर लम्वाई भएको साप्सु खोला पुल निर्माणको काम अझै पूरा हुन नसकेको हो ।

दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दुरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिएको भए पनि पुल र सडकलाई जोड्ने ग्याविन पर्खाल हालसम्म बनाइएको छैन । लगभग पुल तयार भएपनि पुलको वारी र पारी सडकसँग जोड्ने लिंक नहुँदा दिक्तेल–गाईघाट ओहोर दोहोर गर्ने सवारी साधन जोखिम मोलेर खोला तार्न वाध्य छन् ।

पुल निर्माणको काम करिव २ प्रतिशत मात्र बाँकी रहेकाले चाँडै पुल सञ्चालनमा आउने निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए । ‘पुल रंगरोगन र साईडमा क्लियरेन्सको काम मात्र बाँकी छ,’ खत्रीले भने, ‘पुल सञ्चालनमा आउन अव धेरै समय लाग्दैन ।’

ठेकेदारको ढिलासुस्तीमाथि ढलानका लागि जडान गरिएको फलामे टसल (टेको) २०७४ साल वैशाख ६ गते र २०७५ साल वैशाख ४ गते आएको बाढीले बगाउँदा साप्सु खोला पुलको काम अनपेक्षित पछाडि धकेलिएको हो । ६ करोडको लागतमा १८ महिनाभित्र पूरा गर्नेगरी २०७१ सालमा सम्झौता भएको पुलको पटक–पटक म्याद गुज्रिदा पनि निर्माणको काम पूरा नहुँदा जिल्लाबासी आक्रोशित छन् ।

निर्माण कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तभित्रमा पुल निर्माणको काम पूरा गर्ने बताउँदै आएको थियो । ढिलै भएपनि पछिल्लो समय पुलले आशा जगाएको स्थानीयको भनाई छ ।

सुरुमा भएको सम्झौता अनुसार साप्सु पुल निर्माणको काम नभएपछि दोश्रोपल्ट थप भएको म्याद पनि २०७४ साल बैशाखमै सकिएको थियो । २०७३ साल कार्तिकमा थप भएको दोश्रो म्याद गुज्रिएपछि २०७५ साल मंसिरसम्मका लागि तेश्रो पल्ट म्याद थप पाएको निर्माण कम्पनीले जनाएको छ । साप्सु खोलाको पुल ढलानको तयारी भइरहेको २०७४ साल बैशाख ६ गते आएको बाढीले पनि ढलानका लागि ठड्याइएको २४ वटामध्ये १२ वटा टसल बंग्याएको थियो ।

पटक–पटक म्याद थप हुँदा पनि साप्सु खोला पुलको काम नहुँदा स्थानीय असन्तुष्ट छन् । तोकिएको मितिमा पुल निर्माणको काम नहुँदा जिल्लामा ठेकेदारको चर्को आलोचना भइरहेको छ । समयमा पुल निर्माण नहुँदा वर्षा याममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गका रुपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै बिरुद्ध आवाज उठ्ने गरेको छ । पुल निर्माणको काममा ठेकेदार कम्पनीको चरम ढिलासुस्ती देखिएको स्थानीयको गुनासो छ । पुल निर्माण नहुँदा हिँउदभर सञ्चालन हुने दिक्तेल–रसुवाघाट सडक वर्षा लागेसँगै बन्द हुने गरेको छ । ठेकेदारले नियतवस पुल निर्माणमा ढिलाई गरिरहेको राजापानीका स्थानीय पुण्य रेग्मीले बताए ।