८९ वर्षको उमेरमा नागरिकता

च्यास्मिटारमा आयोजित घुम्ती शिविरमा नागरिकताका लागि लाइनमा बसेका स्थानीयहरु ।

फागुन १ बुधवार, २०७५
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिबिरबाट तीन सय ७२ सर्वसाधारणले नागरिकताको प्रमाण–पत्र लिएका छन् । विभिन्न कारणले दिक्तेलसम्म पुगेर नागरिकता सम्वन्धी काम गर्न नसकेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै आयोजना गरिएको दुई दिने एकीकृत घुम्ती शिबिरमा तीन सयको हाराहारीमा नयाँ नागरिकता र केहीको पुरानो नागरिकता सम्वन्धी काम गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।

हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मंगलटार लगायतका सर्वसाधारणलाई लक्ष्यीत गर्दै सोमबार र मंगलबार सञ्चालन गरिएको घुम्ती शिबिरमा समय अभाव भएकाले एक सय ७५ जनाको नागरिकता फागुन ५ गते प्रहरीचौकी च्यास्मीटारबाट वितरण गर्ने तयारी गरिएको छ ।

प्रहरीचौकीमार्फत वितरणका लागि एक सय ३० वटा नयाँ र पुराना ४५ वटा नागरिकताको सनाखत गरेर कागजात प्रशासनले जिम्मा लिएको छ । ‘चाप बढि भएकाले मंगलबार अवेरसम्म पनि नागरिकता वितरणको काम सकिएन,’ प्रजिअ पौडेलले भने, ‘सनाखत गरेर वितरण गर्न नभ्याइएको नागरिकता फागुन ५ गते प्रहरीचौकी च्यास्मीटारबाट वितरण गर्नेगरी टोली फर्किएको छ ।’

शिबिरका माध्यमबाट बडहरेकी १९८६ साल पुस ४ गते जन्मिएकी बृद्धा लिलामायाँ तामाङले पहिलोपल्ट नागरिकता पाएकी छन् । हालसम्म दिक्तेल पुगेर नागरिकता लिन नसकेकी ८९ वर्षीय तामाङलाई शिविरमा बोलाएर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । एकीकृत घुम्ती शिविरका साथमा प्रशासनले सार्वजनिक सुनुवाई पनि गरेको छ ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले पनि सय जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । मालपोत कार्यालयले २० जनाको नामसारी सनाखत, ५ जनाको अंश भर्पाई, १५ जनाको राजीनामा र १५ जनाको बकस सम्वन्धी सेवा प्रवाह गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले एक सय ९५ जनाको मतदाता परिचयपत्र संकलन, कृषि ज्ञान केन्द्रले माटोको एक सय ५३ वटा नमूना परिक्षण, पशुस्वास्थ्य तथा पशु विज्ञ केन्द्रले एक सय ९४ किसानलाई औषधि तथा परामर्श, दुई सय ३८ किसानलाई घाँसको बीउ, डिभिजन वन कार्यालयले ५० जनालाई सन्देशमुलक पोष्टर वितरण गरेको छ । एकीकृत घुम्ती शिविर नगरप्रमुख इवन राईले उद्घाटन गरेका थिए ।