जनयुद्धबाट प्राप्त उपलब्धिलाई कुनैपनि स्वार्थमा भुल्न हुदैन : राई

फागुन १ बुधवार,२०७५
खोटाङ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले जनयुद्धकै कारण हालसम्मको राजनैतिक उपलब्धि भएको बताउँदै यसलाई संस्थागत गरेर लैजानुपर्ने बताएकी छन् । जनयुद्धको स्मृतिमा पुष्पलाल स्मृति भवन दिक्तेलमा मनाइएको २४ औं जनयुद्ध तथा जनआन्दोलन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य राईले जनयुद्धको जगमा टेकेर भएको जनआन्दोलन र त्यसपछि प्राप्त उपलब्धिलाई कुनै पनि स्वार्थमा भुल्न नहुने बताएकी हुन् ।

राईले जनयुद्ध दिवसको दिन जनआन्दोलन थप्न नहुने उल्लेख गर्दै आगामी वर्षहरुमा जनयुद्ध र जनआन्दोलन दिवस फरक फरक समयमा मनाउनुपर्ने सुझाव दिइन् । उनले कम्युनिस्ट आन्दोलनको दुई धारले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण समेत गरिन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश कमिटि सदस्य तथा तत्कालीन नेकपा एमाले जिल्ला अध्यक्ष बबि चाम्लिङ, नेकपाका नेता कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, नेकपाका नेता चर्चबहादुर विश्वकर्मा, नेपाली काँग्रेस जिल्ला सदस्य उमेशचन्द्र आचार्य, युवा संघ केन्द्रीय सदस्य दिनेश राई, आधिकारिक टूेड युनियनका (कर्मचारी) अध्यक्ष ध्रुवकुमार कार्की, नेकपाकी नेता मनकुमारी रसाईली ‘रश्मी’ लगायतले आ–आफ्नो धारणा राखेका थिए । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरू गरेको दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो ।