पोखरेलले दिए रेडियोलाई ल्यापटप र रेकर्डर

खोटाङ टुडे
२९ साउन,

गायक धर्मराज पोखरेलले खोटाङका दुई सामुदायिक रेडियोलाई ल्यापटप र रेकर्डर प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ काठ्माण्डौं बस्दै आएका लोक गायक पोखरेलले आफ्नो जिल्लाका सञ्चारमाध्यमको प्रवद्र्धनका लागि रुपाकोट एफएम र हलेसी एफएमलाई एक/एक थान ल्यापटप र रेकर्डर प्रदान गरेका हुन् ।

 

दिक्तेलको होटल भिलेजमा शुक्रबार एक कार्यक्रम गरी संगीतकर्मी पोखरेलले रुपाकोट एफएमका स्टेशन मेनेजर सूर्य तामाङ र हलेसी एफएमका समाचार शाखा प्रमुख चिसाङ शेर्पालाई लिभोनो ल्यापटप र सोनी कम्पनीको रेकर्डर हस्तान्तरण गरेका हुन् । हालसम्म दुई दर्जन लोक गीत गाईसकेका पोखरेलले आफ्नो गीतको म्यूजिक भिडियो छायांकनकाक्रममा सोलुखुम्बु, ओखलढुंगा हुँदै दिक्तेल आइपुगेका बेला एफएमलाई ल्यापटप र रेकर्डर प्रदान गरेका हुन् ।

 

निष्पक्ष, स्वतन्त्र र सत्य सूचना सम्प्रेषणका लागि हौसला स्वरुप सञ्चार सामग्री प्रदान गरिएको लोक गायक पोखरेलले बताए । ‘सञ्चार माध्यम सँधै निष्पक्ष हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ,’ गायक पोखरेलले भने, ‘निष्पक्ष मिडियाबाट मात्र परिवर्तन सम्भव हुने भएकाले त्यही हौसलाका लागि सानो सहयोग गरेको हुँ ।’

 

२०४८ सालमा रेडियो नेपालको चौतारीमा गाउँदै सांगीतिक यात्रामा लागेका पोखरेलका ‘उँडी जाने जेट, शिर–शिर वतास, मध्ये बसेरी, पूर्व धरान, पश्चिम पोखरा लगायतका गीत बजारमा आइसकेका छन् । पेशाले ईन्जिनियर पोखरेल राजनीतिकर्मी पनि हुन् ।