तीन ट्याक्टर सालको गोलिया र चिरानी काठ बरामद

फायल तस्विर

फागुन ३ शुक्रवार,२०७५
खोटाङ । खोटाङमा प्रहरीले तीन ट्याक्टर सालको गोलिया र चिरानी काठ बरामद गरेको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित देउराली चुनियापानी सामुदायिक वनबाट प्रकृया नपु¥याई ट्याक्टरमा हालेर चिसापानीतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सालको गोलिया र चिरानी काठ बरामद गरेको हो । विना पूर्जी र विना कागजात को २ त ७२२५, को २ त ८७४४ र ना ६ त ८९३८ नम्बरको ट्याक्टरमा हालेर सालको काठ अन्यत्र लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीको टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए ।

बिहिबार दिउँसो चिसापानीकै खुटाबाट बरामद गरिएको सालको काठ, काठ बोक्ने तीन वटै ट्याक्टर र चालक सोही दिन सव–डिभिजन वन कार्यालय चिसापानी समक्ष बुझाइएको प्रहरीले जनाएको छ । सव–डिभिजन वन कार्यालय चिसापानीका वन रक्षक रमेश पौडेलका अनुसार दुई भूकम्प पीडितको आवास निर्माणका लागि सामुदायिक वन उपभोक्ता समुहको आन्तरिक कटान अनुसार २० क्यूविकफिट काठ निकालिएको हो । काठ निकासीका लागि पूर्जी र आवश्यक कागजात नपाईएपछि काठ तथा ट्याक्टर नियन्त्रणमा लिएर सव–डिभिजन वन कार्यालयलाई बुझाइएको प्रनाउ केसीले बताए ।

वन उपभोक्ता समुहको टाँचा, छोड पूर्जी, नजिकको वन कार्यालयबाट खटिएका कर्मचारीले प्रमाणित गरेको लगत वा छोडपूर्जी नभेटिएपछि काठ नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ । ट्याक्टरको माथिबाट स्याउला र दाउराले छोपेर काठ बोकेको पाइएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी नायव निरीक्षक दिपक यादवले बताए ।

प्रहरीले भारी मात्रामा सालको काठ बरामद गरेपछि डिभिजन वन कार्यालय खोटाङले अनुसन्धानका लागि सव–डिभिजन वन कार्यालय खोटाङबजारबाट वन अधिकृत बालेश्वर यादवलाई पठाएको जनाएको छ ।

काठ निकासीको प्रकृयाका विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय खोटाङका प्रमुख ललितकुमार कर्णले बताए । उपभोक्ता समुहको विद्यान र कार्य योजनाभित्र रहेर काठ निकासी गर्ने व्यवस्था छ,’ कर्णले भने, के शर्तमा, कति काठ निकाल्ने, कति जनालाई दिने भन्ने बारेमा अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।’
प्रहरीले यसअघि गत असोज २० गते राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाबाट उत्तिस र पात्लेको ५२.०५ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको थियो ।