जेष्ठ नागरिक आक्रोसित

खोटाङ टुडे
२९ साउन,

जिल्लामा नियमित विद्युत प्रवाह नभएकोप्रति जेष्ठ नागरिक आक्रोशित बनेका छन् । विगत लामो समययता निरन्तर विद्युत प्रवाह गराउनुको सट्टामा बिधुत कटौती गरी सास्ती दिएको भन्दै जेष्ठ नागरिकहरु आक्रोशित बनेका हुन् ।

विद्युत नआउँदा दैनिक जनजीवनमा प्रत्यक्ष असर पुगेकाले विद्युत विस्तार भएका स्थानमा नियमित विद्युत प्रवाह हुनुपर्ने, छिनछिनमा बत्ती जाने समस्या समाधान हुनुपर्ने, महशुल लिनमा कडाई गर्ने तर, विद्युत नदिने कार्यलाई तत्काल सुधार गराउनुपर्ने लगायतका विषयलाई लिएर जेष्ठ नागरिक संघ खोटाङले मंगलबार नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रमा डेलिगेसनमा गएर तत्काल विद्युत नियमित प्रवाह गराउन ध्यानाकर्षण गराएका छन् ।

जिल्लाका सरोकारवाला लगायतले टड्कारोको रुपमा उठाएको विषयलाई लिएर जेष्ठ नागरिक संघ खोटाङका पदाधिकारीहरुले प्राधिकरण वितरण केन्द्र दिक्तेलका प्रमुख नारायणप्रसाद चौधरीको कार्यकक्षमा गएर विद्युत नआउनुको स्पष्टिकरण मागेका थिए । विद्युत निरन्तर नआउनुमा कसको दोष र दोषी भए कडा कारवाही गर्नुपर्ने भन्दै केही समय चर्काचर्की भएको थियो ।

प्राधिकरणको लापारवाही कारण बत्ती नआउदा बृद्धबृद्धाहरुलाई सबैभन्दा समस्या भएको जेष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गा घिमिरेले बताए । प्राधिकरणमा पुगेका दर्जन बढी जेष्ठ नागरिकहरुले जिल्लामा नियमित विधुत प्रवाह गराउन प्राधिकरणलाई सुझाव दिएका थिए ।

नेपाल विद्युत प्राधिकरणले भने उदयपुरको जलजले सव–स्टेशनदेखि बुईपा सव–स्टेशनसम्मको ३३ केभी प्रसारण लाईनमा मर्मतको कार्य भएकाले दिउँसोको समयमा विद्युत कटौति गरिएको बताएका छन् । मर्मत कार्य १० दिनमा सकिने र नियमित विद्युत प्रवाह हुने प्राधिकरणले जनाएको छ ।
जिल्लामा नियमित विद्युत प्रवाह नहुंदा सरकारी, सञ्चारमाध्यम, गैह्र सरकारी कार्यालयगत कामकाज, वित्तिय संस्था, साना उद्योगलाई समस्या भएको छ ।