माझी बस्तीको विद्यालयमा पक्की भवन

फागुन ५ आइतवार, २०७५
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटस्थित पञ्चकौशिका आधारभुत बिद्यालयको नयाँ आरसिसि भवन उद्घाटन गरिएको छ । भौतिक निर्माणतर्फ तत्कालिन जिल्ला शिक्षा कार्यालयमार्फत प्राप्त भएको ३६ लाखको खर्चमा निर्माण गरिएको दुई तले चार कोठे भवन आईतबार दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले उद्घाटन गरेका हुन् ।

सुनकोसीको किनारमा रहेको भँडारेघाटस्थित माझीबस्तीमा रहेको भँडारेघाटमा आर्थिक वर्ष २०७४÷०७५ मा प्राप्त भएको बजेटबाट विद्यालयको आरसिसि भवन निर्माण गरिएको हो । बहुवर्षीय योजना अन्तरगतको भवन निर्माणको काम गत जेठमा सुरु गरेर माघ मसान्तमा पूरा गरिएको प्रअ पवनकुमार बस्नेतले बताए । ठेक्का लागेको भवन लामो समयसम्म अलपत्र पर्ने गरेकामा विद्यालयको भवन समय अगावै निर्माणको काम पूरा गरिएको दाबी गरिएको छ ।

२०४८ सालमा स्थापना भएको विद्यालयमा खोटाङतर्फका भँडारेघाट, सानो भँडारे, रसुवाघाटका विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर माझीले बताए । यस बाहेक उदयपुरको रौतामाई गाउँपालिकाको चनौटे, बिमिरे, बेलबोटे, सोरखु तथा लिङ्चिङबुङ गाउँपालिकाको लामाटारका विद्यार्थी समेत सुनकोसी तरेर पञ्चकौशिका आधारभूत बिद्यालय आउने गरेका छन् ।