नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न माग

दिनराज कार्की
फागुन ७ मंगलवार, २०७५ खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले नेपाललाई हिन्दुराष्ट्र घोषणाको माग गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्रीलाई मंगलबार ज्ञापनपत्र पठाउँदै राप्रपाले संबिधानमा रहेको धर्मनिरपेक्षता खारेल गर्दै पूर्णधार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणाको माग गरेको हो । राप्रपाले लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जवरजस्ती धर्म परिवर्तन गराउने र धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

राप्रपाले राजसंस्था सहित सबै राजनैतिक शक्ती अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलन गर्न, संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न, देश टुक्र्याउन चाहने विखण्डनकारीलाई कडाईका साथ नियन्त्रण गरी राष्ट्रिय अखण्डता सुदृढ तुल्याउन लगायतका २२ बुँदे माग गरेको छ ।

यस्तै, ३८ क्वीन्टल र ३३ किलो सुन तस्करीको छानविन गरेर दोषीलाई कारबाही गर्न, वाईडबडी जहाज खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानविन गरी कारबाही गर्न, सर्वोच्च अदालतको आदेश अनुशार एनसेलले तिर्नुपर्ने पुँजीगत लाभकर लगायत सबै कर असुल गर्न र कर छलीमा संलग्न व्यक्तीलाई कारबाही गर्न, भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न, विदेशमा लुकाएर राखिएका कालो धन भित्र्याउने र कारोबारमा संग्न व्यक्तिलाई कानून बमोजिम कारबाही गर्न माग राखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका अध्यक्ष जीवन श्रेष्ठले बताए ।

राप्रपाले एक परिवार एक रोजगारीको कार्यक्रम ल्याउन, वर्षमा कम्तीमा पाँच लाख रोजगारी सिर्जना गर्नेगरी दिर्घकालिन आर्थिक विकास योजना सञ्चालन गर्न, महंगी र कालोबजारी नियन्त्रण गर्न, २०४७ साल यताका उच्च पदस्थ व्यक्तीको सम्पत्तीको छानविन गर्न न्यायिक आयोग गठन गर्न, गौ–रक्षाका लागि हरेक स्थानीय तहमा कम्तीमा एउटा गौशाला निर्माण गर्न लगायतका माग राखेको छ । ज्ञापन–पत्र बुझाउनका लागि राप्रपाका नेता तथा कार्यकर्ता प्रशासन पुगेका थिए ।