चार वर्षे रणनैतिक योजना बनाउँदै सामुदायिक वन उपभोक्ता महासंघ

फागुन १२ आइतवार,२०७५
खोटाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश नम्बर १ को रणनैतिक योजना वनाउनका लागि अभियान थालिएको छ । महासंघको प्रदेश स्तरीय चार वर्षे रणनैतिक योजना वनाउनका लागि सामुदायीक वन उपभोक्ता महासंघले खोटाङबाट योजना तर्जुमा गोष्ठी सुरु गरेको छ । रणनैतिक योजना वनाउनका लागि महासंघले प्रदेश नम्बर १ अन्तरगतको सगरमाथाको खोटाङ, कोसीको धनकुटा र मेचीको पाँचथरमा कार्यक्रम राखेको जनाएको छ ।

महासंघको रणनैतिक योजना निर्माणका लागि आवश्यक सुझाव संकलन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउण्डेसनमा शुक्रबार र शनिवार रणनैतिक योजना तर्जुमा र विपद जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलन मुल प्रवाहीकरण गोष्ठी आयोजना गरिएको छ । खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बुका सामुदायिक वनकर्मीलाई भेला गरेर प्रदेश स्तरिय रणनैतिक योजनाका लागि आवश्यक सुझाव संकलन गरिएको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए ।

यस्तै,सामुदायिक वन उपभोक्ता महासंघ खोटाङको आयोजनामा भएको कार्यक्रममा सहभागीले हाल संघको मातहतमा रहेको सामुदायिक वन र वन ऐनलाई स्थानीय सरकारको मातहतमा ल्याइनुपर्ने, स्थानीय सरकारबाटै उपभोक्तालाई सामुदायिक वन हस्तान्तरण गर्ने व्यवस्था मिलाइनुपर्ने, वन उद्यम सञ्चालन गरे वापतको कर संघ र प्रदेशलाई नभएर स्थानीय सरकारलाई बुझाउने व्यवस्था गरिनुपर्ने लगायतका सुझाव दिएका छन् ।

यस्तै, सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी लगायतले वन ऐनलाई संरक्षणमुखीभन्दा रोजगारमुखी र उत्पादनमुखी बनाइनुपर्ने, वन पैदावार ऐनलाई खारेज गरेर उपभोक्तामैत्री बनाइनुपर्ने बुँदालाई महासंघको चार वर्षे रणनैतिक योजनामा समावेश गर्नुपर्ने धारणा राखेका छन् । ‘सामुदायिक वनको संरक्षण भएको छ, तर उपभोक्ताको हितमा उपयोग हुन सकेको छैन,’ अध्यक्ष राईले भने, ‘वन उद्यम सञ्चालन गर्ने नीति झन्झटिलो र प्रकृयामुखी भएकाले रोजगारमुखी र अवशर सिर्जना गर्ने खालको बनाउन आवश्यक छ भन्ने आवाज उठेको छ ।’ शनिवार अबेरसम्म चलेको कार्यक्रम महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले उद्घाटन गरेकी थिईन् ।

महासंघको रणनैतिक योजना निर्माणका लागि खोटाङबाट प्राप्त भएको सुझावको ड्राफ्ट तयार पारेर प्रदेशलाई बुझाइने सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष भीमप्रसाद खड्का, सचिव ठाकुर भण्डारी, प्रदेश महासंघका अध्यक्ष तुलसी संग्रौला, उपाध्यक्ष गोपालमान थापा लगायतको उपस्थिति थियो ।