जिल्ला समन्वय समिति महासंघको अनुशिक्षण

फागुन १२ आइतवार, २०७५
बिराटनगर । जिल्ला समन्वय समितिलाई सशक्त र अधिकार सम्पन्न निकायका रुपमा स्थापित गराउनका लागि जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ ले अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

स्थापना कालदेखि नै जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाउनका लागि आवाज उठाउँदै आएको महासंघले प्रदेश नम्बर १ का १४ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यलाई बिराटनगरमा भेला गरेर अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

हाल हरेक जिल्ला समन्वय समिति अधिकार विहिनताको अवस्थाबाट गुज्रेकाले भूमिकासहितको जिल्ला समन्वय समिति बनाउन अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ का अध्यक्ष बबी चाम्लिङले बताए ।

अनुशिक्षण कार्यक्रममा सहभागी जिससका पदाधिकारी तथा सदस्यलाई ‘वर्तमान संबिधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रदेश सरकारले निर्माण गरेको ऐनमा उल्लेख जिससको व्यवस्था, काम, कर्तव्य र अधिकार सन्दर्भमा’का विषयमा मूख्य न्यायधिवक्ता चुडामणी आचार्यले र जिससको भूमिका प्रभावकारी बनाउन आवश्यक कानूनको वारेमा अधिवक्ता नारायण वस्तीले जानकारी गराएका थिए । कार्यक्रममा महासंघ केन्दीय कमिटिका उपाध्यक्ष सन्तमान तामाङ लगायतको उपस्थिति थियो ।