कृषि उपज भण्डारण तथा व्यवस्थापन सम्बन्धी तालिम

फागुन १३ सोमवार,२०७५
खोटाङ । खोटाङमा स्थानीय स्रोत व्यक्तिहरुका लागि कृषि उपज भण्डारण तथा व्यवस्थापन सम्बन्धी दुई दिने प्राविधिक तालिम सम्पन्न भएको छ । सवल परियोजनाअन्र्तगत परिचालित स्थानीय स्रोत व्यक्तिहरुलाई व्यवसाय उन्मुख बनाउदै उनीहरुको दिगो आयआर्जनको स्रोत बढाउने उद्देश्यले दिक्तेलमा आयोजना गरिएको तालिम सम्पन्न भएको हो ।

तालिममा कृषि उपजहरुको उत्पादन उप्रान्त व्यवस्थापन, बाली तथा पशु बीमा, कृषिजन्य व्यवसायमा अभिलेख, घुम्ती कृषि सेवा प्रसारण तथा स्थानीय स्रोत व्यक्तिको दिगो व्यवसायीकरणका विषयमा जानकारी गराइएको सबल कार्यक्रमका बरिष्ठ जिल्ला संयोजक बसन्त श्रेष्ठले जानकारी दिए ।

जिल्लामा सवल परियोजना सञ्चालन भएका २३ वडामध्ये २० वडाका २२ जना स्थानीय स्रोत व्यक्तिहरुलाई सहभागिता गराएर जनसेवा समाज नेपाल जालपा खोटाङको आयोजनामा गरिएको तालिमको सहजीकरण परियोजनाका प्रतिक अधिकारी र गजेन्द्रप्रसाद खत्रीले गरेका थिए ।

तालिम समापनसंगै परियोजनाले तालिममा सहभागीहरुलाई तालिम पश्चात फिल्डमा गएर काम गर्नको लागि न्यापस्याक स्प्रेयर, पिएच मिटर, सिकेचर, बडिङ्ग नाइफ, झोला, तरकारीको बीउहरु लगायत १० हजार बरावरको कृषि सामग्री प्रदान गरेको परियोजनाले जनाएको छ । समापन कार्यक्रम जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर विश्वकर्माको प्रमुख आथ्यितामा भएको थियो ।