सामुदायिक स्वास्थ्य इकाई स्थापना, स्थानीयवासी हर्षित

सुनिता राई ।

फागुन १४ मंगलवार, २०७५
खोटाङ । सर्वसाधारणको स्वास्थ्यमा पहुँच विस्तारका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ । सामान्य स्वास्थ्य उपचारका लागि दुईदेखि तीन घण्टा हिँडेर स्वास्थ्य चौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको दिलैंचीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको हो ।

स्वास्थ्य चौकी सरहको सेवा सुविधा दिनेगरी गाउँपालिकामै पहिलोपल्ट स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाई मंगलबार गाउँपालिका प्रमुख भूपेन्द्र राई र उपप्रमुख सपना राई संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

शान्ति माविको एउटा कोठामा काजमा एकजना अहेव र आवश्यक औषधि जुटाएर सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको गाउँपालिकाले जनाएको छ । सामुदायिक स्वास्थ्य इकाईबाट दिलैंची, ज्यामिरे, खाम्ला, बयुँ, डाँडाटोल, बरबोटे, खनपुल, खत्रीगाउँ, चप्लेटी, मार्सेका स्थानीय लाभान्वित भएका छन् । केही समयपछि अनमी समेत व्यवस्था गरिने गाउँपालिका प्रमुख राईले बताए ।

मुदायिक स्वास्थ्य इकाई स्थापनाका कारण सिटामोलका लागि दुई÷तीन घण्टासम्म उकालो हिँड्नुपर्ने वाध्यता हटेकामा स्थानीय उत्साहित छन् । ‘स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि टाढा नहुन् भन्ने लक्ष्यकासाथ दुर्गम टोलमा स्वास्थ्य इकाई सुरु गरिएको हो,’ प्रमुख राईले भने, ‘अव यस ठाउँका जनताले एक प्याकेट जीवनजल र सिटामोलको ट्यावलेट लिन घण्टौं उकालो हिँड्न पर्दैन ।’उद्घाटनकै दिन स्वास्थ्य इकाईबाट ५० जना भन्दा बढिले सामान्य स्वास्थ्य सेवा लिएको छन् ।

दुर्गममा रहेका वस्तीलाई मध्यनजर गर्दै फागुन १६ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ वतासेको भँडारेघाटमा दोश्रो सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिने गाउँपालिकाले जनाएको छ ।