‘नाटक’ वर्तमानको ऐना र भविष्यको टर्चटाइट हो : प्रधानमन्त्री ओली

फागुन १४ मंगलवार,२०७५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाजको ऐना र टर्चटाइट भएको बताउँदै यसले समाज परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने धारणा व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले अन्तर्रा्ष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै सोमबार नाटकले समाजको वर्तमान र भविष्य दुवै देखाउने बताएका हुन् । ‘नाटक विधा समाजको ऐना पनि हो, टर्च लाइट पनि हो,’ ओलीले भने, ‘ऐनाले वर्तमान र टर्च लाइटले भविष्य देखाउँछ ।’

नाट्य क्षेत्रको प्रवर्धनका लागि सरकार सकारात्मक रहेको जनाउँदै उनले नेपालमा नाटकको सम्भावना धेरै रहेको बताए । ‘नेपालमा नाटकको भविष्य राम्रो रहेको म देख्छु छ,’ उनले भने ‘चाहे नाटक लेखनीमा होस् या अभिनयमा, नाटकको भविष्य राम्रो छ ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीसहित नेपाली रंगकर्ममा लामो समयदेखि योगदान पु‍याएका १२ जना रंगकर्मीलाई सम्मान गरे ।साथै जोशीले लेखेको ‘सुनकेसरी’ पुस्तकको विमोचन पनि गरेका थिए ।

‘सामाजिक रूपान्तरणका लागि कलात्मक अभिव्यक्ति’ भन्ने नाराका साथ मण्डला थिएटरमा सुरु भएको महोत्सव यही फागुन २० गतेसम्म चल्नेछ । महोत्सवमा नेपाल, भारत, नर्बे, श्रीलंका, डेनमार्क, इटाली बंलादेशलगायत ९ देशका ३० वटा नाटक प्रदर्शन गरिँदै छ । यसका लागि १३ देशका करिब दुई सय रंगकर्मी राजधानीमा भेला भएका छन् ।