ऐसेलुखर्क गाउँपालिकाले तीन जना गाउँ प्रहरी भर्ना

फागुन १५ बुधवार, २०७५
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले गाउँ प्रहरीमा तीन जना भर्ना गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए अनुसार गाउँ प्रहरीको व्यवस्था गरी शान्ति सुव्यवस्था र अमनचयन कायम गर्दै नीति नियमलाई प्रभावकारी कार्यान्यवनका लागि गाउँ प्रहरी भर्ना गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।

दैनिक कार्य सम्पादनकाक्रममा परिचालन गर्ने गरी भर्ना भएका गाउँ प्रहरीलाई बुधबार नियुक्ति दिएर ड्यूटीमा खटाइएको छ । कालो टोपी, सेटो सर्ट, निलो पाईन्ट र कम्मरमा कुखुरी भिरेका गाउँ प्रहरीलाई शपथ खुवाएर लगत्तै कार्यक्षेत्रमा खटाइएको गाउँपालिका प्रमुख निरौलाले बताए । ऐसेलुखर्क गाउँपालिकाले जिल्लामै पहिलोपल्ट गाउँ प्रहरी भर्ना गर्ने पहिलो पालिका हो । गाउँ प्रहरीका लागि गाउँपालिकाभित्रका १७ जनाको आवेदन परेको गाउँपालिकाले जनाएको छ ।