अतितको अँध्यारो कोठरीमा प्रजातन्त्र दिवस

कृष्णबहादुर बुढाथोकी
दिवस र दलको धनी मुलुक नेपाल । यस मुलुकमा तीनसय पैंसठ्ठी दिनमा तीनसय छैसठ्ठी दिवस छन् । नारी दिवस, बाल दिवस, पानी दिवस, भूकम्प दिवस, अपाङ्ग दिवस, कुष्ठ रोग दिवस आदि आदि । जुन दिवसमा वाकचतुरहरुको भजन मण्डलीले तान र राग मिलाएर मुक्ति र सेवाको मद प्याला पिलाउँछन् र डलरको खेती गरी घरबार जोड्नतिर लाग्छन् । तीनकरोड नेपाली जनता भएको देशमा हरियाली पार्टीदेखि परिवार दलसम्म तीन सय दल पुगनपुग होलान् । तर जनताको दिनाचार्य श्री ३ कै सम्झना गराउने किसमको छ । शेरचनको कविताले भने झैं टिका लाउने निधारका सन्तानले टिका लगाइरहेको र तक्मा भिर्ने छातिकै सन्तानले तक्मा भिरिरहेको छन् । फरबदल त केवल शव्दमा छ, व्यवहारमा होइन ।

दिवसहरुकै चाङभित्र सत्ता परिवर्तनका किल्लासँग जोडिएका केही दिवसका कुटुराहरु नेपाली समाजका मथिङ्गालमा घोलिएका छन्, राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, जनआन्दोलन दिवस, जनयुद्ध दिवस, आदि आदि । यी दिवसहरुमा सबैको साझा धारणा भेटिंदैन । यी दिवसका नामहरु सम्झीरहँदा भन्न मन लाग्छ नेपाल शव्दहरुको खेतीमा उर्वर छ । दिवसलाई पनि कुनै दल वा पार्टीसँग जोडेर व्याख्या विश्लेषण गर्ने पाण्डित्यको विकास झनै डर लागदो पाराले उकालो लागेको पाईन्छ । शङ्का लाग्छ दिवस कुनै जाति, पार्टी वा सम्प्रदायको हुन सक्ला कि भन्ने ।

नेपालमा ऐतिहासिक र जोखिमपूर्ण घटनाहरुको श्रृंखला बोकेको दिन २००७ सालको फागुन ७ गतेलाई गर्भधारण गराई जन्माइएका दिवसहरुको डङ्गुरभित्र प्रजातन्त्र दिवस गुमनाम हुनलागेको छ । प्रजातन्त्र दिवसको आफ्नै गरिमा छ, । नवागत अनेक नामधारी दिवसको जननी हुनाले पनि यसको पल्ला भारी छ । इतिहास जित्नेहरुको ईच्छामा बनाइने दस्तावेज रहेछ । सत्ता र शक्तिको आडमा रहने मनमर्जी इतिहास लेखाउने हुनाले पनि प्रजातन्त्रको गरिमालाई अतितको अँध्यारो काल कोठरीमा नजरबन्द गरिएको छ तर “आगोलाई खरानीले छोपे पनि धुवाँ छोडिरहन्छ” भने झैं यस दिनले नपाली जनमानसमा प्रभाव जमाईरहेको छ ।

कोत र भण्डारखाल पर्वपछि स्थापित श्री ३ र श्री ५ वीचको द्वन्द्व र श्री ३ को स्वेच्छाचारी जहानीया शासनको अत्याचार विरुद्ध राजा र जनता मिलेर सत्ता विप्लव गरे । जनता र देशको मुक्तिका लागि राजा त्रिभुवनले राजगद्दी परित्याग गरी सपरिवार भारतीय राजदूतावासमा शरणार्थी बनेको इतिहास छिपेको छैन । संसारको इतिहासमा यो विरलै हुने घटनाक्रम थियो । राजा र जनताको साझेदारीमा देशबाट कुशासनको उन्मुलनका लागि राजगद्दी परित्याग गर्नु चानचुने कुरा थिएन तर यस कुराको मूल्याङ्कन कौडी बराबर पनि भएको देखिंदैन । राजा शव्द कर्णकटु बनाइएको छ, विगतका सहासिक कामहरुमा खिया दलेर । श्री ३ को अखडा जगेडका लागि खाली राजगद्दीमा राखिएका बालक ज्ञानेन्द्र सडकमा छन् । शताव्दीयौंको शासकीय वागडोरलाई तिलाञ्जली दिएर जनताले थालेको संघर्षमा मसाल उठाउने शासक धरतीमा खोज्ने हो भने प्रजातन्त्रका हिमायती मानिएका त्रिभुवन थिए । प्रजातन्त्र दिवसमा यो महत्ता जोडिएको छ ।

१०४ वर्षको राणाहरुको शासन कालमा अधिकार वञ्चित नागरिकका अधिकारका लागि जोखिम उठाएको विरासत प्रजातन्त्र दिवस फागुन ७ गतेले बोकेको छ । भारत सरकारको मध्यस्ततामा त्रिपक्षीय दिल्ली सम्झौताले निरङ्कुशताको पहाड तोडेर प्रजातन्त्रको मैदान बनाई नेपाली जनतालाई रैतीबाट प्रजामा पदोन्नति गरेको दिन हो । जुन दिन नेपालमा जन अधिकारको खातिर कोसेडुङशगा सावित भएको थियो । जसको जगमा उभिएर राजासहितको प्रजातन्त्र र राजरहित लोकतन्त्र र गणतन्त्र नामको शासन व्यवस्थाको खेती गरिएको छ । श्रीपेचलाई संग्राहलयमा सजाइए तापनि भाद गाउँले टोपीको तान्डव र श्रीपेचको अहममा रत्तिभर भिन्नता पाईंदैन । जनताको अभिमतबाट टोपीधारी शासक चुनिने प्रथाको थालनी यसै दिनले गरेको हो ।

जुन दिनले जनताको छोराछोरी जनताको बुइ चढेर उन्मत्त शासक बन्ने आधार बनाइदियो त्यसै दिनलाई नै विवादमा पार्नु बेइमानी हो । लामो समयको निर्कुसतालाई चिरेर जनताको बन्द आवाजलाई बुलन्द बनाउने दिनको रुपमा प्रजातन्त्र दिवसलाई लिन सकिन्छ । यस पवित्र दिनलाई उपयोग गरेर आफ्ना मतलब साधना गर्ने नियतले यसको बदनामी गरिएको छ । नेपाली जनताको रगतको अवमूल्यण नेतृत्व जगतबाट नै गरिएको छ ।

अन्यायका विरुद्ध दिलो ज्यान अर्पण गरी स्थापना गरेको प्रजातन्त्रलाई दाउमा राखेर स्वार्थको लुकामारी खेलिएको छ । जुन लुकामारी २०१५ सालसम्म खेलियो । जनताको अपेक्षा पन्छाएर कसले बढी यश पाउने, को अघि बढ्ने, कसलाई माथि लैजाने, कसलाई समाप्त गर्ने आदि आदि तिकडम गर्नतिर नेतृत्व गण लागेको देखिन्छ । जसले राजा महेन्द्रलाई सुनौलो मौका दियो ।

यसकै जगमा टेकेर राजा महेन्द्रले पञ्चायती पद्धतिको प्रादुर्भाव गरे । राजाको शासन भएपनि पञ्चायती प्रजातन्त्र नाम दिईयो । जनताका मौलिक हक खोसिए पनि त्यसलाई सुन्दर बनाउन प्रजातन्त्र भनियो । यसले प्रजातन्त्रको मर्ममा चोट पुग्यो, चमकमा खिया लाग्यो । आफ्नो असफलता र अदूरदर्शिताका कारण गुमाएको प्रजातन्त्र हात पार्न प्रयास गरियो । जुन प्रयासमा छिन्ताका जनताको एक चिहान बनाइयो, सुखानीमा रगतको खोलो बगाईयो । समयमा नेताले बुझिदिएको भए जनताले यति ठूलो मूल्य पुनः चुकाउनु पर्ने थिएन । पञ्चायतका विरुद्ध भूमिगत हुनुपर्ने थिएन ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जुन नाम दिएपनि जनताले खोजेको सुशासन र न्याय थियो । प्रजातन्त्रलाई सामयिक परिवर्तन गरी जनचाहना अनुसार काम गरेको भए पटक पटक आन्दोलन र तोडफोड हुने थिएनन् । विवेकशिल राजनेता भएको भए २०४७ सालमा रगत बगाउन आवश्यक थिएन भने २०५२ र २०६२/०६३ तथा मधेस आन्दोलनका नाममा जनता मारिनु पर्ने थिएन । जनताको बलमा स्थापित व्यवस्थामा सुकिला लुगा लगाएर सुटुक्क छिर्ने धमिराको हुल बाधक छ जसले देश, जनता र सुशासनलाई शक्ति, सत्ता र सम्पत्तिको आडमा कब्जा गर्छ र ध्वस्त बनाइदिन्छ र भिन्न बादशाहको रुपमा देखा पर्छ । नेपालको इिितहासमा नेपाली जनताले गरेको क्रान्ति र उत्सर्गलाई यसरी नै तुहाइएको छ भने दिवसहरुलाई पनि समूहगतरुपमा अंशवण्डा गरिएको छ ।

२००७ सालको क्रान्तिले स्थापना गरेको प्रजातन्त्र त्यस अर्थमा महान र कालजयी छ जहाँ शासक र शासित दुबैले कुशासनको खिलाफमा हतियार उठाएका छन् । शासकले गद्दी त्यागेर जनतासँग सडकमा आन्दोलन गर्न आएका छन् । शासक नै जनताको चाहना पूरा गर्न आफैं लडेका छन् । राज्य व्यवस्था र राजनीति खराब भयो उठ जनता यसलाई सुधार भनी सडकमा आग्रह गरेका छन् । म शासक होइन जनताको सेवक हुँ, शासक जनताको साथमा हुनुपर्छ भन्ने मनाशय राखेको देखिन्छ । यसै धारणबाट नेपालमा प्रजातन्त्रको जग बसेको पाईन्छ । यसै जगमा टेकेर सोझा साधा जनतालाई सुखको ललीपप देखाउँदै आन्दोलनमा उतार्ने कामको श्रृंखला बडेको छ । सत्ता र शासकलाई दोषी देखाउने र आफू सत्तामा गई सन्तान दर्सन्तानको लागि कमाउने होडले सबैको दिमागमा घर गरेको छ । हँुदा हँुदा जनताको कुर्वानीलाई दलीय पेवा बनाउने काम भएको छ । जनयुद्ध र जन आन्दोलनको विषयम जुँगाको कुस्ति चलेको छ । लोकतन्त्र भन्ने कि गणतन्त्र भन्दै कित्ताबन्दी हुन थालेको छ । विडम्बना ! शव्दमा लाप्पा खेल्न थालिएको छ ।

दलीय झुण्डको स्वार्थमा शव्दको खेती गर्न रमाउनेहरुको ढिपीले गर्दा प्राप्त उपलब्धी गुम्ने खतरा आउनसक्छ । जनताले गरेको अन्दोलनलाई थापि खाने भाँडो बनाउने र प्रतिष्ठको लागि दाउमा राख्ने कामले २००७ सालको उपलब्धि गुमेको ईतिहास विर्सन हुदैन । यसै जगमा उभिएर आज सम्मका अवसर हात लागेका हुनाले लोकतन्त्र, गणतन्त्र नामका बनिबनाउ दिवसका कचेडमा प्रजातन्त्र दिवसलाई अन्धकारको कोठरी बन्दी बनाउनु हुदैन । श्रीमती ल्याएपछि आमाबाबुलाई वृद्धआश्रममा पु¥याए जस्तो पो हेला कि ? (लेखक : बुढाथोकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ बुवालुङका स्थानीय हुन ।)अस्तु