खोटाङमा हप्ता दिनमा ९२ बाँदर समातिए

फागुन १७ शुक्रवार, २०७५
खोटाङ । खोटाङमा हप्ता दिनमा ९२ वटा बाँदर समातिएको छ । राष्ट्रिय निकुञ्जमा पु¥याउनेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट मंगलबारसम्ममा ९२ बाँदर समातिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताए ।

 

अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पु¥याउनका लागि गत फागुन ७ गतेदेखि लफ्याङबाट ‘बाँदर समाउ’ अभियान थालिएको हो ।

 

खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपछि बाँदरलाई खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारीमार्फत जालमा समातेर निकुञ्ज पु¥याएर छाड्ने अभियान थालिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १५ वडाका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पु¥याउनका लागि नगरपालिकाकै १० लाखको खर्चमा शिकारीलाई जिल्ला भित्र्याइएको हो ।

 

आगामी जेठ मसान्तभित्रमा प्रतिवटा दुई हजारका दरले २ सय ५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीचमा सम्झौता भएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

 

सुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिएको ‘बाँदर समाउ’ अभियान जिल्लाका १० वटै स्थानीय तहमा पु¥याइने समितिले जनाएको छ ।