पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन, श्रद्धाञ्जलि व्यक्त ९ देखि १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने

फागुन १९ आइतवार, २०७५
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको आज राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी दिए ।

 

तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफँै बनाऔँ जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए ।

 

नेता अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।