बराहपोखरीको पर्यटन प्रवद्र्धनका लागि पर्यटन ट्र्याक

खोटाङ टुडे ११ भदौ

 

खोटाङको जन्तेढुंगा गाउँपालिकाले बराहपोखरीको पर्यटन प्रवद्र्धन योजनालाई प्राथमिकतामा राखेको छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नका लागि गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।

उचित संरक्षण र संवद्र्धनको अभावमा हालसम्म ओझेलमा रहेको बराहपोखरीको पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा १२ लाख बजेट विनियोजन गरेको बराहपोखरी गाउँपालिकाकी उपप्रमुख गोमा मगरले बताईन् । करिब ३३० मिटर लम्वाई र २१० मिटर चौडाई भएको बराहपोखरी आसपासमा घेराबारा, ताल व्यवस्थापन, सार्वजनिक शौचालय, पिउने पानी लगायतका व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

बराहपोखरीमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि गाउँपालिकाले विभिन्न वडामा पिकनिक स्पट, रिसोर्ट र भ्यू–टार निर्माण लगायतका संरचना बनाउने योजना अघि सारेको छ । बाह्य पर्यटकलाई उदयपुरको गाईघाट हुँदै धाप्लाङघाटबाट सुनकोसी तरेर आउने वातावरण निर्माणका लागि बराहपोखरी गाउँपालिका–२ सुन्तलेको धाप्लाङमा पिकिनिक स्पट, बराहपोखरी गाउँपालिका–३ साउनेचौंरको सिन्ताङ घोप्टेथलामा रिसोर्ट, सुनापातालमा भ्यू–टार निर्माण लगायतका योजना बनेको छ । सुनकोसीको किनारमा रहेको मैदानमा पिकनिक स्पट निर्माणका लागि ५ लाख, रिसोर्ट बनाउने योजनालाई क्रमागत योजनाकारुपमा ३ लाख र भ्यू–टार निर्माणका लागि ८ लाख निर्माण गरिएको उपप्रमुख मगरले बताईन् ।

तराईबाट पिकनिक स्पटमा आउने बाह्य पर्यटकलाई रिसोर्ट हुँदै बराहपोखरीसम्म ल्याउने र फर्कने वातावरण बनाउने लक्ष्यकासाथ गाउँपालिकाले पर्यटन रुटको अवधारणा अघि सारेको जनाएको छ । गाईघाटबाट धाप्लाङघाट हुँदै गाउँपालिका भित्रिने बाह्य पर्यटकलाई सिन्ताङ–साउनेचौंर–बराहपोखरी हुँदै बंशिलाघाटबाट पुःन उदयपुरको बेलटार हुँदै बाहिरिने वा बंशिलाघाटबाट भित्रिने बाह्य पर्यटकलाई बराहपोखरी–सिन्ताङ–धाप्लाङ हुँदै बाहिरिने वाताबरण सिर्जना गर्नेगरी बराहपोखरीको महत्वकांक्षी पर्यटन प्रवद्र्धन योजना बनाइएको हो । गाउँपालिकाले बराहपोखरीको पर्यटन प्रवद्र्धनकै लागि बराहपोखरीको क्षेत्रभित्र पर्ने सुनकोसी नदीमा ¥याफ्टिङ सञ्चालन गर्ने नीति पारित गरेको छ ।

‘मुहान नदेखिने तर कहिल्यै नसुक्ने’ बराहपोखरीको पानी सुरुङबाट निकास हुने गरेको स्थानीय बताउँछन् । सँधै स्वच्छ पानीले भरिभराउ रहने निलो पोखरी चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ । मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र बराहपोखरीको दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । बराहपोखरीको पर्यटन प्रवद्र्धनका लागि संघ र प्रदेश सरकारबाट समेत बजेटको व्यवस्था भएको गाउँपालिकाले जनाएको छ ।