भवन अभावमा चार घरमा गाउँपालिकाको कामकाज

फागुन २८ मंगलवार, २०७५
खोटाङ । भवन अभावमा खोटाङको रावाबेँसी गाउँपालिकाको कामकाज चार स्थानीयको घरबाट सञ्चालन भइरहेको छ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेको हरम्टारमा नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगे पनि हालसम्म गाउँपालिकाको काम स्थानीय गोपाल दाहाल, महलसेर राई, खेम श्रेष्ठ र प्रेम श्रेष्ठको घरबाट सञ्चालन भइरहेको छ ।

गोपालको सिंगो घरमा गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन, लेखाको कामकाज सञ्चालन हुँदैआएको छ । एउटै कोठामा आ–आफ्नै टेबल राखेर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफ्नो काम गर्दै आएका छन् । सोही घरको बरण्डामा प्रशासन र लेखा शाखा सञ्चालन हुँदै आएको छ ।

यस्तै, नजिकै रहेको खेमको घरबाट महिला तथा वालवालिका शाखा, योजना, प्राविधिक र सूचना प्रविधि शाखाको सेवा प्रवाह हुँदै आएको छ । महलसेरको घरबाट स्वास्थ्य, कृषि र भेटेनरी शाखाको सेवा प्रवाह भइरहेको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए । भवन अभावमा शिक्षा शाखाको कोठा प्रेमको घरमा खडा गरिएको छ ।

गाउँपालिकाको विभिन्न सेवा प्रदायक शाखा छरपष्ट हुँदा कतिपय सेवाग्राहीलाई सेवा लिनमा कठिनाइ भइरहेको पाइएको छ । सेवाग्राही सोधखोज गर्दै घरको कोठा–कोठा चाहार्ने गरेका छन् । शिक्षा शाखाको कोठा राखिएको घरमा पशल समेत भएकाले कार्यालयको काममा समेत असहज भएको कर्मचारीको भनाई छ ।

रावाबेँसी गाउँपालिका–२ खार्पामा स्थापना गरिएको कार्यालय गाउँपालिकाको पहिलो बैठकले कुभिन्डेको हरमटार सार्ने निर्णय गरेको थियो । निर्णयको केही समयपछि कार्यालय हरम्टारमा सारिए पछि गाउँपालिकाले भवन अभाव झेल्दै आएको छ ।