निगाले–जौबारी नुनथला सडक निर्माण सुरु

फागुन २८ मंगलवार, २०७५
खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला जोड्ने सडक निर्माण सुरु गरिएको छ । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तरगतको १९ लाख ८० हजारमा कुभिण्डेको निगाले–जौबारी नुनथला चौकी सडक निर्माण सुरु गरिएको हो । चैत्र दोश्रो साताभित्र पूरा गर्नेगरी स्काभेटर लगाएर सडक निर्माणको काम थालिएको सडक निर्माण उपभोक्ता समितिका सचिव दिपक ठटालले बताए ।

कुभिण्डेबाट नुनथला निस्कने सबैभन्दा छोटो मार्गकारुपमा ८ मिटर चौंडाई भएको २ किलोमिटर सडक निर्माणको काम थालिएको हो । हालसम्म प्रतिघण्टा ५ हजार ५ सयका दरले स्काभेटर लगाएर १०८ घण्टा सडक खनिसकिएको छ ।

कुभिण्डेबाट नुनथलाको पानीट्यांकी निस्कने दुई वटा सडक भए पनि निगाले–जौबारी नुनथला चौकी सडक सबैभन्दा छोटो हुने उपभोक्ता समितिको दाबी छ । कुभिण्डेबाट नुनथलाको पानीट्यांकी निस्कने सडक धेरै घुम्ती भएको र ग्रेड नमिलेको तथा कुभिण्डे–खार्पा–बिजुले–नुनथला सडक घुमाउरो भएकाले तेश्रो सडक निर्माण सुरु गरिएको हो ।

कुभिण्डेको सल्लेरी सामुदायिक वन र खार्पाको पातल धोवीखोला सामुदायिक वन तेर्सोबाट निगाले–जौबारी नुनथलाचौकी सडक निर्माण सुरु गरिएको छ । दुई वटै उपभोक्ता समितिको सहमतीमा वनक्षेत्रबाट सडक निर्माण सुरु गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव ठटालले बताए ।

सडक निर्माणको अवस्थाका विषयमा जिल्ला समन्वय समितिले आईतबार इन्जिनियर सहित अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, सदस्य चर्च विश्वकर्मा, जिल्ला समन्वय सििमतका सूचना अधिकारी रविकिरण आचार्य, इन्जिनियर धमेन्द्र झा लगायतको टोलीले सडक अनुगमन गरेको हो ।