सामुदायिक पाटी घर निर्माण सुरु

फागुन २८ मंगलवार, २०७५

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा सामुदायिक पाटी घर निर्माण सुरु गरिएको छ । स्थानीय तामाङ र शेर्पा समुदायको विवाह, घेवा (मृत्युपछिको संस्कार), चाडपर्व, पाटीका समयमा सामुहिक भोजका कार्यक्रम गर्नका लागि नुनथला गैरीमा सामुदायिक पाटी घर निर्माण सुरु गरिएको हो ।

वडा कार्यालयको ४ लाख ५० हजार र स्थानीय ३३ घरबाट प्रतिघर एक हजारका दरले संकलन गरिएको रकमबाट फलामे ट्रसको सामुदायिक पाटी घर निर्माण सुरु गरिएको हो । शहरमा हरेक कार्यक्रम पाटी प्यालेसमा गर्ने प्रचलन बढिरहेका बेला स्थानीयले नुनथलामा सोही प्रकृतिको घर निर्माण सुरु गरेका हुन् ।

दुई महिनाअघि निर्माण सुरु गरिएको सामुदायिक पाटी घरको हाल जस्तापाता हाल्ने काम मात्र बाँकी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम तामाङले बताए । घर निर्माणका लागि स्थानीय पेमाछिरी शेर्पा र दोर्ची शेर्पाले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

विनियोजित रकममध्ये फलामे ट्रस खरीदमा २ लाख ४० हजार, जस्तापाता खरिदमा १ लाख ४८ हजार, ढुंगा, गिटी बालुवामा २६ हजार ५८० रुपैयाँ, काँटी खरिदमा ९ हजार लगायतका खर्च भएको छ ।

वडामार्फत आएको बजेट र स्थानीयको चन्दाबाट सामुदायिक पाटी घर निर्माण गरिए पनि शौचालय, विद्युत र पानी व्यवस्थापनकाक्रममा आर्थिक समस्या आइपरेको वडासदस्य ढकराज शेर्पाले बताए ।