डोकोमा शव

खोटाङ टुडे १२ भदौ

 

पहाडी क्षेत्रमा पोष्टमार्टम गरिने शवलाई ट्याक्टर वा अन्य सवारी साधनमा बोक्नु सामान्य नै मानिन्छ । तर, सडकको दुरावस्थाका कारण खोटाङका कतिपय विकट गाउँका स्थानीय डोकोमा शव बोकेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुग्न बाध्य छन् । गत आईतबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ मझौंका स्थानीय डोकोमा शव बोकेर जिल्ला अस्पताल दिक्तेल पुगे । शुक्रबारदेखि सम्पर्क बिहिन बनेका मझौका ८६ वर्षीय महेन्द्रबहादुर खत्री शनिबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको रमितेडाँडामा मृत फेला परेपछि आफन्तले डोकोमा शव बोकेर दिक्तेल जान बाध्य भएका हुन् ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लानु पर्ने भएपछि आफन्तले ट्याक्टर खोजी गरे । खत्रीको शव बोक्नका लागि ट्याक्टर पनि भेटिए । तर, मालिकले ट्याक्टर दिएपनि चालक शव बोक्न तयार भएनन् । ट्याक्टर भाडा पनि ३०–४० हजार पर्ने भएपछि आफन्तले भरियालाई २५ हजार दिएर डोकोमा शव बोकेर अस्पताल गएको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका वडासदस्य अमृत गिरीले बताए । ‘एक त सडकको अवस्था नाजुक छ । बाटैमा बास बस्नु पर्ने अवस्था भए समस्या हुन्छ भन्दै ट्याक्टर चाकलले शव बोक्न मानेन,’ वडासदस्य गिरीले भने, ‘त्यही भएर भरियालाई डोकोमा बोकाएर शव पोष्टमार्टममा पठाइएको हो ।’

शव पोष्टमार्टमका लागि दिक्तेल लैजानुको विकल्प छैन । उदयपुरको गाईघाट लैजान सहज भएपनि दुरीका हिसावले टाढा पर्छ । बैदेसिक रोजगारीका कारण गाउँमा युवा जनशक्ति छैनन् । काम गर्ने पुरुषको अभाव छ । शव बोक्ने काममा महिलालाई लैजाने कुरा भएन । त्यही भएर मृतकका आफन्तले शवलाई भरियामार्फत डोकोमा बोकेर अस्पताल लगेका हुन् ।

स्ट्रेचरमा बोक्ने मान्छे नपाउँदा पनि शवलाई एकैजनाले डोकोमा बोकेर ल्याएको हुन सक्ने जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए ।