बर्षमा एकपटक नारी दिवस मनाउदैमा महिला हिंसाको अन्त्य हुदैन
राधा सुवेदी ।
जहिलेसम्म महिलाको आवाज सुनिदैन र त्यो आवाजको कदर गरिदैन, तबसम्म मुलुकमा साँचो लोकतन्त्र आउँदैन, १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस फेरि पनि मार्च ८ तारिख आउँछ अनि विश्वभरी किसिम किसिमको कार्यक्रमका साथ नारी दिवस मनाइन्छ । यसरी हरेक साल नारी दिवस एक बर्ष पुरानो हुन्छ अनि विश्व इतिहासमा पनि महिलाले हाँसिल गरेको उपलब्धि र स्थापना गरेको कीर्तिमानमा एक सानो अध्याय थपिन्छ ।
महिला समानता अर्थात महिला अधिकारको आवाज उठाएको शताब्दी बितिसक्दा पनि महिलाप्रति हेरिने सबै पक्षका विभेद उन्मुलनको दिशामा विश्व बामे मात्रै सर्दै गरेको तथ्य खोज्न टाढा जानुको सट्टामा केवल आफ्नै अनुहार ऐनामा हेरे पुग्छ । कमसेकम बर्षमा एक दिन भएपनि मनाउँदै आएको अन्तराष्ट्रिय नारी दिवसले आफ्नो आफ्नो परिवेशलाई नारी अधिकारबारे झस्काउन चाहिँ सफल भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको शुरुआत १९ औ शताब्दीको आरम्भसंगै भएको हो । यो सन् १९०८ देखि मनाउन थालिएको हो भने अष्ट्रेलियामा सन् १९२८ देखि नै आरम्भ भएको थियो । सन् १९०८ मा सामाजिक बिचारधाराका अमेरिकी महिलाहरुले पहिलो नारी दिवसको आयोजना गरेर अन्तर्राष्ट्रिय नारी आन्दोलनलाई प्रेरित गरेका थिए । महिलाको राजनीतिक र आर्थिक क्षेत्रमा समानता अनि मत दिन पाउनुपर्ने भनी हजारौंको संख्यामा महिलाहरू सडकमा उत्रिएका थिए ।
पुरुष सरह ज्याला र कामगर्ने वातावरणको सुधारको लागि आम हड्ताल गरेका थिए । यसपछि बिस्तारै अमेरिकाभरी नारी दिवस मनाईन थालियो र पछि गएर अरु युरोपियन राष्ट्रमा पनि महिला चेतना र नारी आन्दोलनको सुरुवात हुन थाल्यो । यो दिवस नेपालमा भने बि.स. २०४६ सालदेखि मनाउन थालिएको हो । नारी दिवस मनाईरहदा नेपाली नारीहरुमा के कति परिवर्तन भयो भन्ने कुरा प्रमुख विषय हो ।
समाजबादी बिचारधारा भएकी अमेरिकी लिना लुइसले सन् १९१० मा एउटा बक्तव्य निकाली नारी दिवस भनेको कुनै कुराको उपलब्धिमा खुसी मनाइएको हैन, तर यो दिन भविष्यमा पुरुषले नारीभन्दा आफूलाई उच्च मान्ने र नारीप्रति शासन जमाउने प्रथा अन्त्यको लागि गर्नुपर्ने संघर्षलाई निरन्तरता दिन सम्झाउने दिन हो, भनेकी थिइन् ।
लिना लुइसले भनेको त्यो तथ्यको एकसय बर्षभन्दा बढी बितिसक्दा पनि विश्व त कुरै नगरौं, अहिलेसम्म पनि पुरुषले आँफूलाई उच्च मान्ने र उनीहरु माथि कुनै न कुनै प्रकारको शासन गर्ने प्रथाको शतप्रतिशत उन्मुलन भएको देश भेट्न गा¥हो पर्छ भन्दा झुट दाबी ठहरिदैन । यसरी पुरुषले आफूलाई उच्च ठान्ने र महिलाहरूलाई कुनै न कुनै तरिकाले शासन गर्ने मात्रा पद्धति र त्यसको परिमाणमा ठाँउ, समाज, परिस्थिति अनुसारको फरक पर्ला तर त्यसको अन्त्य नै भएको चाहिँ भन्न सकिँदैन । हुनत ! तुलनात्मक रुपले हे¥यो भने बिगत सय बर्ष यतालाई नियाल्ने हो भने समाजमा महिलाको स्थानमा परिवर्तन नै नआएको त भन्न मिल्दैन ।
यो एक दिनको नारी दिवसले ३ सय ६४ दिन घर, परिवार, श्रीमान, छोराछोरीको स्याहार(सुसार र घर धन्दाको कामले एकछिन पनि सास फेर्न फुर्सद नपाउने, अनेक प्रकारको यातना भोग्ने ती नारिहरुका लागि गर्ने कार्यक्रमहरु र दिइने शिक्षा तथा सचेतना केवल एक दिन मात्र नभएर हरेक दिन हुनुपर्छ ।
शब्दमा मात्र हैन व्यवहारमा पनि उतार्ने हो भने पक्कै पनि नारी दिवस नमनाएतापनि नारिले सम्मान र समान अवसर पाउन सजिलै सक्छन् । महिलामाथि शारीरिक तथा मानसिक रुपमा दिइने पीडा लगायतका महिलाप्रति आत्मसम्मानमा पु¥याईने सबै किसिमको व्यवहार नै महिला हिंसा हो । समाज पितृसत्तात्मक सोँच, अन्धविश्वास, पुरातन संकार एवम् परम्परा, विभेदपूर्ण कानुन, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिवीजस्ता नीति निर्माणको कार्यमा महिलाको कम प्रतिनिधित्वले गर्दा महिला हिंसा हुने गर्दछ ।
सधैं एउटा कमजोर र गरिब महिला नै बोक्सी हुन्छे भने समाजको घृणित नजर, तराईमा दाईजो, पश्चिममा छाउपडी जस्ता कुकार्य अझै हट्न सकेका छैनन् । विभिन्न जनचेतनामूलक कार्यक्रमहरु काठमाडौंका तारे होटलमा र फाइभ स्टार होटलमा बजेट सिध्याउनको निम्ति मात्रै गरिन्छ तर गरिव र अशिक्षित समुदायमा न्युन मात्रामा हुने गर्दछ । आफूलाई मधेस प्रदेशको महिसा भन्दै मधेसमा पहाडे शासकहरुले विभेद गरेको भनेर घृणित राजनीतिको रोटी पकाउनेहरुले घरमा छोरी बुहारी जलाउन पाउने कुप्रथालाई आत्मनिर्णयको अधिकार भन्ने होलान् ।
डलर नआउने भएपछि महिला अधिकारवादीहरुको लागि यो उर्बर खेतीको विषय पनि रहेन । मधेसका नारीले दाइजोको कारण भोग्नु परेको पीडा असह्य छ । मानवता हराएको हाम्रो समाजमा ममता नभएको मान्छे पशु सरह व्यवहार गर्छन् नारी माथि । हत्या, हिंसा, बलात्कार, कुरीति र कुसंस्कारमा चलेको त्यो तिम्रो परिवार सक्छौ परिवर्तन गर, मधेसी नेतालाई म यहि आग्रह गर्दछु । घरमा जिउँदै जलाएर मार्न पाउने संस्कारको अन्त्य गरिदेऊ ।
स्वतन्त्रता पूर्वक बाँच्न देऊ, स्वच्छन्द रुपमा आफ्ना तर्क राख्न देऊ मधेसका छोरीहरुलाई । बिहेमा धेरै सम्पत्ति दाईजो हैन, असल शिक्षा देऊ । भाषणमा भन्छौ हामी मधेसी जनताको लागि लडिरहेका छौं । मञ्चमा उभिएर ठूलठूला आश्वासनले भरिएका भाषण गर्दैमा देशको विकास हुदैन । नारा जूलुस लगाएर हिड्दैमा समाजमा परिवर्तन आउँदैन । सडक सडकमा प्लास्टिक टिप्दै हिड्नेलाई छुदैन तपाईंको खोक्रो भाषणले ।
अरुको घरमा भाडा माझ्न गोठालो बसेकाहरुलाई खै तपाईंले भाषणमा भने झै हकअधिकार सुनिश्चित गरेको ? दाईजोको निहुमा जिउँदै जलाएर मारेकी बुहारीलाई खै तपाईंले न्याय दिएको ? बलात्कार गरेर मारेकी छोरीलाई खै तपाईंले बनाएको कानुन ? आफ्नो स्वार्थमा बिकीरहेकाहरु सब सधैं कुर्सी र पदमा मात्रै नबस्नुस, क्यै नयाँ परिवर्तन गरेर देखाउने कि ?
दाईजोको नाममा होस् या अन्तजातिय विवाहले महिलामाथि हुने हत्या, अपहरण, बेचबिखन, कुटपिट, दैनिक घर(व्यवहारमा भेद्भाव गर्नु, धर्म एवम् संस्कारका नाममा अधिकारबाट बञ्चित गर्ने, गराउने जस्ता कार्यहरुले नै महिला हिंसा हुने गरेको छ ।
महिला दिदीबहिनीहरुका लागि केही सुझाव :
महिलाहरू जबसम्म शैक्षिक र आर्थिक रुपमा सबल बन्न सक्दैनन, तबसम्म हरेक तहमा कोरम पु¥याउनका लागि मात्रै प्रतिनिधित्व पाउने छन् । तसर्थ महिलाहरु आर्थिक समृद्धितर्फ जोडिनु आवश्यक छ । म छोरी हुँ, म बुहारी हुँ, मलाई श्रीमानले कमाएकोले भै हाल्छ, अरुले नै कमाइ हाल्छन, खान पाकै छ, लाउन पाकै छ, कुनै कुराको कमी छैन, किन गर्ने ? भन्ने सोँच सबैभन्दा पहिला हटाउन आवश्यक छ । जति पनि शिक्षित, सक्षम, योग्य दिदीबहिनीहरु हुनुहुन्छ, म पनि केही गर्न सक्छु, मैलेपनि केहि गर्नुपर्छ र मैलेनी गरे भने हुन्छ ‘सक्छु’ भन्ने सोँच राख्नुहोस् । अरुको लागि नसके आफ्नै लागि मात्रै भएपनि केही गर्नुहोस् । बिहेमात्रै नगर्नुस, मान्छे भएर मात्रै नजिउनुस् ।
श्रीमानको राम्रो श्रीमती, बच्चाको असल आमा, सासू (ससुराको असल बुहारी, परिवारको राम्रो सदस्य, आफन्तहरुको राम्रो मान्छे, समाजको एउटा असल, सत्य र आदर्शवादी व्यक्तित्व बन्ने प्रयास गर्नुहोस् । र ‘मात्रै नारी भएको, जन्मेको सार्थकता पूरा हुनेछ ।
अरुको कुरा गरेर मात्रै नबस्नुहोस, देश विकास र समाज परिवर्तनको कुरा गर्नुस् । अरुको भर आसमा मात्र जीवन जिउन नखोज्नुहोस, हरेक कुरामा आफै अग्रसर हुनुहोस् । अगाडी बढ्नुहोस, सबल एवम् सक्षम हुनुहोस् । तपाईं अफ्नो लक्ष्य प्राप्ति र उद्देश्यमा पुग्नको लागि, सफल हुनको लागि कहिल्यै पछि नहट्नुहोस् । जस्तोसुकै बाधा व्यावधान आउन, चाहे घर (परिवारबाटै बहिष्कार भैयोस् तर आफ्नो बाटो नछोड्नुहोस् । गल्ती नगर्नुहोस् र कोहिसँग कहिल्यै नझुक्नुहोस, नडराउनुहोस् । सहि तरिकाले, सहि बाटो लिएर अगाडि बढ्नुहोस् सफल र उदाहरणीय बन्नु हुनेछ । एक अर्काको कुरा नकाट्नुस, हेला नगर्नुस, साथ दिनुस, सपोर्ट गर्नुस, हौसला दिनुस, अगाडी बड्ने प्रेरणा मिल्नेछ । दुःखी नि हास्न सक्छ, गरिब पनि बाँच्न सक्छ । पीडितहरु पनि जाँगरूक हुन सक्छन् ।
कोहीपनि महिलाको रुपमा जन्मिएको हुँदैन, उनिहरुलाई महिला बनाइएको हुन्छ
आज सामाजिक, राजनीनिक क्षेत्रमा पनि नारीको प्रतिनिधित्व उत्तिकै देखिन्छ, तरपनि कतिपय समाजमा नारीलाई पहिलो भन्न चाहदैनन् । सभामुख ओन्सरी घर्ती, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति विद्यादेवि भण्डारीलाई महिला कोटाका आधारमा मात्रै उक्त पदमा पुगेको सामाजिक बुझाई छ ‘तर समाजले घर्तीले युद्ध लडेको, कार्कीले कानुन पढेको र भण्डारीले राजनीनिक क्षमताका कारण पदमा पुगेकोलाई कोटाको उम्मेद्वार जस्तो देख्नु महिलाको क्षमता अवमूल्यन गर्नु हो ।
विश्वका बादहरु, धर्महरु, विवादहरु, संघर्षहरु र संग्रमहरुका सिमाना होलान् । मुलुकी होलान, सिद्धान्त र बेदान्तहरु पनि होलान् । ती मुलुकहरुमा बिजय र पराजय दुबै होलान् तर सबै मुलुकमा हुने महिलाहरुको आवाज एउटै छ । संग्रम उस्तै छ । लक्ष्य उही छ । त्यो हो ज्ञानेन्द्रियको फरकले उनिहरुलाई मानव परिभाषा भन्दा बाहिर र तल नराखियोस् ।
संसारका महान व्यक्तिहरु जन्माउने पनि नारी । संसार देखाउने पनि नारी । यति महान् छिन् नारी ‘जुन नारी बिना मान्छेले व्यक्तिगत जीवनको समेत कल्पना गर्न सक्दैन भने किन हेला हुन्छन् अझै तिनै नारीहरु ? किन लुटिन्छन् ? किन पिटिन्छन् ? किन बेचिन्छन् ? किन अन्यायमा परिरन्छन् ? अनेक दुःख (कष्ट सहेर नि चुप बस्नु पर्ने ? उनिहरुलाई स्वतन्त्रतापूर्वक बाँच्न, हाँस्न, बोल्न र हिड्न पाउने अधिकार छैन ?
हिजो लोग्ने मर्दा सगैं जलेर मर्नु पर्ने, पढ्न नहुने, सधैं घर, खेतीपातीमा मात्र सिमित रहनु पर्ने ? आजको २१ औं शताब्दीमा आइपुग्दा पनि महिला हिंसामा खासै कमि भएको छैन । रुढीबादी परम्परा र पुरानै सोँच बिचारका साथ अगाडि बढी रहेको हाम्रोे समाजमा अझै पनि खाना पकाउन, कपडा धुन, घर सफा गर्न, भाडा माझ्न नारीले मात्र ‘बैनीले मात्र’ ‘बुहारीले मात्र’ श्रीमतीले मात्र गर्नुपर्छ भन्ने मान्यता कायमै छ ।
नारीले काम गर्दा पुरुषले गर्नै हुँदैन, दाजुभाईले पढ्दा बहिनी पढ्नै हुँदैन, सासूले आराम गर्दा बुहारी बस्नै हुदैन, श्रीमतीले गर्ने काम श्रीमानले गर्नै हुदैन । अझैपनि हरेक कुरामा पछि छन् नारी । बञ्चित पारिएको छ हर कुरामा । सहरी भेग, शिक्षित परिवारमा त यो सबै नहोला तर गाउँबस्तीहरुमा अझै गडेर बसेको छ ।
हाम्रो मुलुकको परिप्रेक्ष्यमा हेर्दा जबसम्म दाजुभाई स्कुलमा पढ्न जाँदा सानुभाई हेर्नू परेर विद्यालय जान नपाएकी एउटी दिदी, आफ्नै आफन्तहरुले रोजगारीको प्रलोभन वा सहरका विभिन्न ठाउँमा घुमाईदिन्छु भन्दै सिमाना कटाएर कोठीमा बेचिन पुगेकी छोरी, सधै रक्सीले मातेर खलामा धान चुटेझैं चुटिएकी हाम्री भाउजू, माइतबाट दाइजो कम ल्याएको भन्दै दिनरात सासू र लोग्नेको भनाई खाँदाखाँदा आफ्नै जीवनसँग अघाएकी आमाहरुको मुख चित्कारलाई आवाज दिन सकिएन भने बर्षैपिच्छे जतिसुकै चर्को आवाजले ‘अन्तर्राष्ट्रिय महिला दिव’को जिन्दावाद ! चिच्याए पनि यसको केही अर्थ लाग्न सक्दैन ।
यसपालीको अन्तर्राष्ट्रिय नारी दिवसले विश्वको कुनाकुनामा जन्मिएका तर त्यहाँको मानसिक, शारीरिक, नैतिक र संस्कारिक रुपले बलात्कृत सबै दिदीबहिनीको पीडाहरुको चर्को आवाज बन्न सकोस् र यस्ता आवाज फेरि कहिल्यै कतै पनि नसुनियोस् ।
(लेखक सुवेदी : बराहपोखरी गाउँपालिका–१ बराहपोखरी खोटाङकी स्थानीयवासी हुन ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



