महावाणी

धेरैले इमानदार र सोझो मान्छन् मलाई । त्यसैले फुर्किने गर्छु म । म सानो हँुदा आमाले सम्झाउनु हुन्थ्यो, “बाबु, छोरा मान्छे भएर त्यसै छोरी मान्छेलाई छुनु हुँदैन । उनीहरूको इज्जत राख्नु पर्छ ।”
यतिबेला एउटीको लोग्ने र एउटाको बाबु भएको छु म । आमाले महिलालाई सम्मान गर्न दिनु भएको नैतिक शिक्षा रै’छ त्यो । बिहे अगाडि कसैसित आँखा लोभिए पनि केही गरिनँ मैले ।

 

अचानक मेरीसित नजानिँदो पारामा खटपट सुरु भयो । तर, उनीसित गुनैको मात्रा दोब्बर थियो । उनले भन्थिन्, हामी बेला भइन्जेल स्थायी जागिरका लागि बल गरौँ । भएन भने जसरी भए पनि बाँचिएला नि ।”
असारे झरीमा रुझ्दै र काखे नानीलाई हुर्काउँदै लक्ष्यमा पुग्न सधैंँ हौसला दिइरहिन् मलाई ।

 

म र नितिषा एउटै घरको अलग–अलग कोठामा बस्थ्यौँ । हामीमा बिस्तारै चिनजान र निकटता बढ्दै गयो ।
नितिषाले मेरा गृहस्थी जीवनको घर ठडिएको जान्दाजान्दै पगाल्न खोजिन् । म अडिग रहन खोजेँ । उनी भन्ने गर्थिन्, “आखिर तिमीले पढेर जागिर खानु पैसाकै लागि न हो । यो शहरमा मेरै नाउँमा घडेरी छ । गाउँमा पुग्दो जग्गा–जमिन छ । म चाँडै अमेरिका जाँदैछु । सुखसयलका साथ बसौंला । कृष्ण भगवान्ले त त्यत्रो विघ्न बिहे गरे भने हामीले किन अप्ठेरो मान्नु र !”

 

बैंसले धपक्क बलेकी उनीबाट उम्किन सकिनँ म । “मर्द छोराको बाह्र बिहे” भन्थे बूढाबूढी । मौकामा चौका नहान्ने कायर पुरुष हुनु थिएन । त्यसैले संसार भुलेर रंगीन दुनियाँमा रमाएँ म ।
अहिले म कारागारको चिसो छिँडीमा बसेर आमाको महावाणी सम्झिदैछु ।

श्रीराम राई
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पा, खोटाङ