कम्प्यूटरको किबोर्डमा रमाउदै जनप्रतिनिधि

 

खोटाङ टुडे १२ भदौ

हामी नेपाली हो । हाम्रो देश नेपाल हो ।’ उल्लेखित वाक्य कुनै आख्यानबाट लिइएको होईन । कम्प्यूटर कक्षामा सहभागी बनेका खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देविस्थानका वडाध्यक्ष केदार राईले निकै समय र मेहनत लगाएर कनिकुथी कम्प्यूटरको स्क्रिनमा टाइप गरेका शव्द हुन् । स्थानीय चिसापानी माविमा सञ्चालन भइरहेको निशुल्क कम्यूटर कक्षामा वडाध्यक्ष राई हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्मको समय त्यही बिताउछन् ।

यस्तै, छेउमै बसेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठ पनि अंग्रेजी फन्टमा कम्प्यूटरको किबोर्ड थिचिरहेका थिए । वडाध्यक्ष श्रेष्ठको अभ्यास किबोर्डमा औंलालाई ठीक तरिकाले चलाउने अभ्यासमै केन्द्रित थियो । कम्यूटर सिक्नमै तल्लिन जन्तेढुंगा गाउँपालिका–४ डम्वर्खुशिवालयका वडाध्यक्ष विदुरमान राईले कहिल्यै नगरेको काम गर्दा उत्साह भए पनि अप्ठ्यारो महसुस भइरहेको बताए । ‘कहिल्यै नगरेको काम,’ वडाध्यक्ष राईले भने, ‘एकदमै गाहो भइरहेको छ । सिकेको कुरा भुलिहालिँदो रहेछ ।’

गाउँपालिका र वडा कार्यालयका जनप्रतिनिधि एबं कर्मचारीको कम्प्यूटर सम्बन्धी क्षमता अभिवृद्धिका लागि जन्तेढुंगा गाउँपालिकाले आयोजना गरेको निशुल्क कम्प्यूटर कक्षामा वडाध्यक्ष, वडा सदस्यदेखि कर्मचारीले दैनिक कम्यूटर चलाउने अभ्यास गरिरहेका छन् । गत भदौ १ गतेदेखि सुरु गरिएको १५ दिने तालिममा कुनै वडाध्यक्ष फाइल क्रियट गर्ने अभ्यास गरिरहेका देखिन्छन् । कुनै वडाध्यक्ष÷सदस्य टाईप गर्न सिकिरहेका देखिन्छन् । अलमल भएपछि प्रशिक्षकलाई बोलाउँछन् र प्रशिक्षकले भने अनुसार कम्प्यूटर चलाउने प्रयास गर्छन्, गरिरहेका छन् ।

जन्तेढुंगा गाउँपालिकामा ६ वटा वडा छन् । सबै वडाको काम कम्प्यूटरबाट सञ्चालन गर्ने र वडाको गतिविधिलाई इमेलममार्फत गाउँपालिकासम्म पठाउन सक्ने क्षमता विकासका लागि कम्प्यूटर कक्षाको आयोजना गरिएको हो ।