खोटाङमा कहाँ पुग्यो नेकपाको एकता प्रकृया ?

चैत्र ९ शनिवार, २०७५
खोटाङ । नेपाल कम्यूनिष्ट पार्टीले खोटाङका गाउँपालिका र नगरपालिकामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा नेकपाले भागबण्डामा अध्यक्ष र सचिवको टुंगो लगाएको हो । स्थानीय तहमा नेकपाको एकता प्रकृया टुंग्याउनेक्रममा ६ अध्यक्ष पूर्व एमालेलाई र ४ अध्यक्ष पूर्व माओवादीलाई तथा ६ सचिव पूर्व माओबादीलाई र ४ सचिव पूर्व एमालेलाई बाँडफाँड गरेर सहमती जुटाइएको नेकपा खोटाङका नेता ववि चाम्लिङले बताए ।

नेकपाका अनुसार हलेसी तुवाचुङ नगरपालिकामा पूर्व एमालेका सुरेन्द्रकुमार राईलाई अध्यक्ष र पूर्व माओबादीका गोपाल दाहाललाई सचिव, ऐसेलुखर्क गाउँपालिकामा पूर्व एमालेका पर्शु राई अध्यक्ष र पूर्व माओबादीका राजेन्द्र भण्डारी सचिव, रावाबेँसी गाउँपालिकामा पूर्व एमालेका बलराम रिजाल अध्यक्ष र पूर्व माओबादीका राजन मगर सचिव, साकेला गाउँपालिकामा पूर्व एमालेका फुलकुमार राई अध्यक्ष र पूर्व माओबादीका मोहन खत्री सचिव, जन्तेढुंगा गाउँपालिकामा पूर्व एमालेका यामकुमार राई अध्यक्ष र पूर्व माओबादी बद्री किरात सचिव, बराहपोखरी गाउँपालिकामा पूर्व एमालेका दीर्घ मगरलाई अध्यक्ष र पूर्व माओबादीका ताराकान्त राईलाई सचिव बनाउने टुंगो लागेको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पूर्व माओबादी केन्द्रका बिसन राईलाई अध्यक्ष र पूर्व एमालेका गोपालचन्द्र आचार्यलाई सचिव, केपीलासगढी गाउँपालिकामा पूर्व माओबादीका कामकाजी राईलाई अध्यक्ष र पूर्व एमालेका डिगबहादुर गुरुङ सचिव, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पूर्व माओबादीका राजेन्द्र राईलाई अध्यक्ष र पूर्वमालेका कृष्ण कार्की सचिव तथा खोटेहाङ गाउँपालिकामा पूर्व माओबादीका राजन ढकाललाई अध्यक्ष र पूर्व एमालेका विकास राईलाई सचिव बनाउने टुंगो लागेको नेकपा नेता कुमार आचार्यले बताए ।

७५ सदस्यीय गाउँपालिका कमिटि र ८१ सदस्यीय नगर कमिटिका लागि अध्यक्ष र सचिव सहित ५ जनाको कार्यालय टिम बनाएर एकता प्रकृया टुंग्याइने नेकपाले जनाएको छ ।

जिल्ला कमिटि र वडा कमिटिको टुंगो लाग्न बाँकी छँदै नेकपाले गाउँपालिका र नगरपालिकाको अध्यक्ष र सचिवमा सहमती जुटाएको हो । वडा, गाउँ तथा नगर कमिटि निर्माणको काम अन्तिम चरणमा पुगेकाले औपचारिकता दिन मात्र बाँकी रहेको नेता चाीम्लङले बताए । ‘गाउँपालिका र नगरपालिकाको अध्यक्ष र सचिवबाट एकता प्रकृया सुरु गरेका हौँ,’ पूर्व एमालेका अध्यक्ष रहेका चाम्लिङले भने, ‘यस विषयमो छलफल अन्तिम चरणमा पुगेको छ । त्यस अनुसार एकता प्रकृयालाई औपचारिकता दिन मात्र बाँकी छ ।’

यस्तै, जिल्ला कमिटिको अध्यक्ष, सचिव लगायतका पदाधिकारीको टुंगो लगाउनका लागि कार्यदलले प्रदेश कमिटिलाई सिफारिस गरिसकिएको नेकपाले जनाएको छ । नेकपाको जिल्ला कमिटिको अध्यक्ष ‘कसले लिने’ भन्नेमा पूर्वएमाले–माओबादीबीचमा रस्साकस्सी छ ।