रेन्बो ट्राउट पालनका लागि आधुनिक पोखरी निर्माण

चैत्र ११ सोमवार, २०७५
खोटाङ । व्यवसायिक रुपमा रेन्बो ट्राउट पालनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पक्की पोखरी निर्माण गरिएको छ । औषधिय गुण भएको रेन्वो ट्राउट लगायत अन्य प्रजातीका माछा पालन गर्दै कृषि पर्यटनको विकास गर्ने लक्ष्यकासाथ जालपाका स्थानीयले पाँडे दहमा पाँच वटा पोखरी निर्माण गरेका हुन् ।

नगरपालिकाको ५ लाख र जनसेवा वचत तथा ऋण सहकारी संस्था जालपाबाट लिइएको ५ लाख ऋणबाट तीन महिना लगाएर रेसवे सहितको पक्की पोखरी निर्माण गरिएको हो । कृषि पर्यटनको विकासका लागि जालपा एकीकृत कृषि विकास आयोजना अन्तरगत रेन्वो ट्राउट माछा पालन तथा उत्पादन केन्द्र स्थापनाको अन्तिम तयारी गरिएको जनसेवा वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुब श्रेष्ठले वताए ।

२० वर्षका लागि भाडामा लिएको करिब ५ रोपनी सिमसार जग्गामा माछा पालन तथा उत्पादनको तयारी गरिएको छ । तयारी पोखरीमा फागुनभित्रमा रेन्वो ट्राउटको २ हजार भुरा हालिने अध्यक्ष श्रेष्ठले बताए । रेन्बो ट्राउट उत्पादन केन्द्रलाई नगरपालिकाले गौरवको योजनाको रुपमा लिएको छ ।

जालपा एकीकृत कृषि विकास आयोजना अन्तरगत सो क्षेत्रमा कम्तीमा २० घरधुरीको करिब ३ सय रोपनी निजी जग्गा भाडामा लिएर अन्य प्रजातिका माछा, हाँस, कुखुरा, मौरी पालन, तरकारी खेती लगायतका कृषि उद्यम गर्ने योजना रहेको छ । सिरानमा रेन्वो ट्राउट र सोभन्दा मुनि निर्माण गरिने पोखरीमा क्रमशः ग्रास कार्प, कमन कार्प र पुछारमा निर्माण गरिने पोखरीमा मुंग्री माछा पालन गर्ने योजना बनाइएको छ ।

पाँडे दहमै मुहान भएको पानीलाई माछा पोखरीमा उपयोगमा ल्याइने छ । सोही पानीलाई प्रयोग गरेर माछा पोखरीभन्दा तल हाँस पालन र सबैभन्दा पुछारमा चुँदारा व्यवसाय सञ्चालन गर्ने योजना अघि बढाइएको अध्यक्ष श्रेष्ठले बताए । माछा पोखरीभन्दा माथि आधुनिक पौडी पोखरी, दृश्यावलोकनका लागि टावर, पिकनिक स्पट, बालबालिकाका लागि फन पार्क लगायतका संरचना निर्माण गरिनेछ । सोही क्षेत्रभित्र लोकल कुखुराको व्यवसायिक पालन र तरकारी खेती समेत गर्ने योजनाकासाथ काम अघि बढाइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै स्थानीयको आर्थिक जीवनस्तर सुधार गर्ने योजनाकासाथ हाल जालपा एकीकृत कृषि बिकास आयोजनाको सदस्यता वितरण र शेयर संकलनको काम भइरहेको जालपा एकीकृत कृषि विकास आयोजनाको संयोजक देबेन्द्रकुमार राईले बताए ।

जालपा एकीकृत कृषि विकास आयोजनास्थल पुग्नका लागि कम्तीमा ६ सय मिटर पैदल मार्ग निर्माण गरिनेछ । हलो जोत्दाजोत्दै पाँडे नाम गरेका हली, हल गोरु र कुकुर भासिएर मृत्यु भएको जनबोली रहेको सो स्थानमा सोही घट्नाको झल्को दिने प्रतिकात्मक मूर्ति निर्माण गरिने जनाइएको छ ।

रेम्बो ट्राउटको बजार भाउ राम्रो भएकाले सोको माध्यमबाट गाउँमै स्वरोजगारको वातावरण वनाउन रेस–वे सहितको रेन्बो ट्राउट पालन योजना बनाइएको जालपाका वडाध्यक्ष विकास राईले बताए । नगरपालिकाको सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा पनि रेम्बो ट्राउट माछा उत्पादन केन्द्र निर्माण भइरहेको छ ।