सागर पुनको उत्कृष्ट ब्याटिङ, ओमानलाई नेपालद्वारा २२२ रनको लक्ष्य

मलेसियामा बुधबारबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले ओमानलाई २ सय २२ रनको विजयी लक्ष्य दिएको छ ।

 

क्वालालम्पुरस्थित बायुमास ओभरमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय २१ रन बनाएको हो। नेपालको सम्मानजनक योगफलमा राष्ट्रिय टिममा पूनरागमन गरेका सागर पुनले ८३ रनको योगदान दिए।

संकटमा परेको नेपाली टिमलाई सम्हालेका पुनले ८५ बल खेल्दै २ छक्का र ६ चौकासहित ८३ रन बनाएर रन आउट भए।
सागर पुनसँग ९२ रनको साझेदारी गरेका आरिफ शेख ३५ रनमा आउट भएका थिए।
टिमको स्कोर ८० रन हुँदा ४ विकेट गुमाइसकेको अवस्थामा नेपालका लागि पुन र शेखले ९२ रनको साझेदारी गर्दै टिममलाई सम्मानजनक स्कोर बनाए।

 

अन्तिममा आएका करण केसीले बिस्फोटक ब्याटिङ गर्दै ८ बलमा २३ रन बनाएर नटआउट रहे।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाएर आउट भएका थिए। उनले ६० बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरे। यस्तै दिपेन्द्र सिंह ऐरीले ९ रन बनाउँदा कप्तान पारस खड्का ८ रनमै आउट भए।

 

यसअघि ओपनर सुवास खकुरेल ४ रन बनाएर आउट भएका थिए। सोमपाल कामी ५ रनमा आउट हुँदा रोहितकुमार पौडेल शून्य रनमा आउट भए। बसन्त रेग्मीले कुनै पनि बल खेल्नै नपाइ शुन्यमा रन आउट भए।
ओमानका लागि मोहम्मद नादिम बिलाल खान र लालचेताले समान २/२ विकेट लिएका थिए।
नेपाल र ओमान डिभिजनस्तरका चिरप्रतिद्धन्द्धी हुन्। सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो।

 

पहिलो खेलमा ओमानविरुद्ध मैदान उत्रदा नेपाल शानदार सुरुवातको खोजीमा रहनेछ । तर, नेपाललाई सोचे जस्तो सहज छैन । किनकी ओमान पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।
पछिल्लो नतिजा हेर्दा ओमानविरुद्ध नेपालको प्रदर्शन उच्च छैन। एकदिवसीय क्रिकेटमा ६ पटक भिडे पनि नेपालले पछिल्लो पाँच वर्षयता ओमानलाई हराउन सकेको छैन। तर, ६ भेटमा नेपाल र ओमानले समान ३र३ पटक जित निकालेका छन् ।

 

पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न नसकेको नेपालले सन् २००२ को एसीसी ट्रफीमा ओमानलाई १०५ रनले हराएको थियो। त्यसको आठ वर्षपछि भिड्दा नेपाल ६ विकेटले विजयी भएको थियो।
अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो। त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ । जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।

 

प्रतियोगितामा नेपालले दोस्रो खेलमा युएईसँग खेल्नेछ । जुन खेललार्इ आइसीसीले अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता दिएको छ।
एसिया कपमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन्।

छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ । (सेतोपाटीबाट)