किरात राई विद्यार्थी संघको राष्ट्रिय सम्मेलन सफल बनाउन दिक्तेलमा अन्तरक्रिया

चैत्र १५ शुक्रवार, २०७५
खोटाङ । किरात राई विद्यार्थी संघको राष्ट्रिय सम्मेलनलाई व्यवस्थित रुपमा सञ्चालनका लागि बिहिबार दिक्तेलमा अन्तरक्रिया गरिएको छ । प्रचार–प्रसार गर्दै राष्ट्रिय सम्मेलनलाई भव्य र सभ्य बनाउनका लागि आवश्यक राय परामर्श संकलनका लागि संघले जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया गरेको हो ।

खोटाङमा हुने राष्ट्रिय सम्मेलनको ‘जस–अपजस’ खोटाङबासीले नै लिनेगरी अपनत्व पैदा गराउनका लागि अन्तरक्रिया गरिएको किरात राई विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष विर्सिका राईले वताईन् ।

कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, पूर्वसभासाद दुर्गाजयन्ती राई, नेकपाका नेता रामप्रसाद दंगाल, कांग्रेस नेता सुमानबाबु आचार्य, संघीय समाजवादी फोरमका नेता निर्मल राई, नयाँ शक्तिका नेता सूर्य राई, किरात राई यायोक्खाकी अध्यक्ष अञ्जना राई लगायतले किरात राई विद्यार्थी संघको राष्ट्रिय सम्मेलनको सफलताको कामना गर्दै आर्थिक सहयोग जुटाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘प्रदेशको नाममा कुनै न कुनै हिसावले किरात जोडिनु पर्छ’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य भट्टराईले १ नम्बर प्रदेशको नाममा कुनै न कुनै हिसावले किरात जोडिनुपर्ने वताएका छन् । उनले प्रदेशको नाम मिश्रित वा बहुपहिचानका आधारमा राख्नुपर्ने धारणा राखेका छन् ।

पूर्वसभाषद दुर्गाजयन्ती राईले भने यायोक्खामा आउने राजनैतिक विभाजनले प्रदेशको नामाकरण किरात हुनेमा आशंका व्यक्त गरेकी छन् ।