वैदेशिक रोजगार सुरक्षित टोल घोषणा

खोटाङ, भदौ १४

 

खोटाङमा एकवटा टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ ।

 

खाल्लेको ६ सय ४८ घरधुरी मध्ये २९ घरधुरी रहेको वस्नेत टोलमा १३ जना पुरुष बैदेशिक रोजगारीमा गएका सबैले विदेश जाँदा सीप सिकेर गएका, एकजना बाहेक अन्यले आवश्यक कागजातको एक÷एक प्रति फोटोकपी घरमा राखेको, विदेशबाट आफन्तले पठाएको पैसा अनावश्यक फजुल खर्च नगरी बचत गर्ने बानीको विकास, बिदेशबाट फर्केपछि सीपमूलक आयआर्जनमा लागेको, महिलामाथि लगाइने लान्छना विरुद्ध संगठित भएका आधारमा बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको सामी परियोजना सामाजिक परिचालक तारानाथ फूयलले जानकारी दिए ।

 

सुरक्षित आप्रावासन परियोजना सामी अन्र्तगत नवकिरण सेवा समाज नेपालको सहकार्यमा सूचना तथा परामर्श सेवा तथा सामाजिक परिचालन कार्यक्रम र वडाको आयोजनामा गतवर्षको कात्र्तिक १४ गतेदेखि भदौ ७ गतेसम्ममा बैदेशिक रोजगार सम्बन्धि विभिन्न मनोपरामर्श, जनचेतनामूलक सन्देश, साक्षरता कक्षा लगायतबाट बैदेशिक रोजगार सुरक्षित टोल निर्माण गरेर बिहिबार खाल्लेको बस्नेत टोललाई वडाध्यक्ष डिल्लीकुमार राईले बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरेका हुन् ।

 

बैदेशिक रोजगार सम्बन्धि साक्षरता कक्षा पाएपछि परिवारमा दैनिकी लेख्ने, पासवुक भर्ने, दैनिक बचत गर्ने, फजुल खर्चलाई कम गर्ने र विदेशमा भागेर काम गर्न नहुनेजस्ता शिक्षा पाउदा परिवारमा परिवर्तन आएको बस्नेत टोलका दुर्गा बस्नेतले बताइन् । बिदेश जादाँ सीप, भाषा सिकेर गएमा तथा कागजपत्र सुरक्षित राखेमा बैदेशिक रोजगारी सहज र दुःख नपाईने विदशेबाट फर्केका बिनोद बस्नेतले बताए ।

 

बस्नेत टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गदै परियोजनाले अन्य टोलमा अभियान थालनी गर्ने जनाएको छ । खाल्लेमा ४७ जनाले सीप सिकेर विदेश गएका, ७९ जनाले कागजपत्र घरमा छोडेका, ३८ जनाले पैसा तिरेको भरपाई लिएको र ४७ वटा बैदेशिक समस्या रहेको पाइएको छ ।