खोटाङको फेदीमा सचेतनामूलक अभियान

खोटाङ १४, भदौ  २०७५

 

रेडपाण्डा संरक्षणका लागि खोटाङको फेदीमा सचेतनामूलक अभियान चलाइएको छ । केपीलासगढी गाउँपालिका–१ फेदीस्थित बगाले सामुदायिक बन, चिलिम लाहुरे सामुदायीक बन, फुङगालुङ सामुदायिक बन र छिमालुङ सामुदायिक बनमा पाईने लोपोन्मुख बन्यजन्तु रेडपाण्डा संरक्षणका लागि सचेतनामूलक गतिविधि थालिएको हो ।

 

स्थानीय साम्पाङ (राई) भाषामा ‘कुँदो’ भनेर चिनिने लोपोन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षणका लागि ईलाका बन कार्यालय बाक्सिलासँगको सहकार्यमा गाउँपालिकाले फेदीमा एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा बन तथा वातावरण शिर्षकबाट विनियोजित बजेटबाट रेडपाण्डा संरक्षणका लागि २ लाख छुट्याएर सचेतनामूलक काम सञ्चालन गरिएको केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईले बताए ।

 

चोरी शिकारी रोक्न, रेडपाण्डाको बासस्थान जोगाएर रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनका लागि यस आर्थिक वर्ष पनि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । गुराँस, खस्रु, निगालो र मालिङ्गो मिश्रित बनमा पाईने रेडपाण्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र जीविकोपार्जनमा सहयोग पुग्ने भएकाले यसको संरक्षण अभियान थालिएको गाउँपालिका प्रमुख राईले बताए ।