दिप्रुङमा सर्वाधिक राशीको भलिबल प्रतियोगीता हुँदै

वैशाख ८ आइतवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सर्वाधिक राशीको भलिबल प्रतियोगीताको तयारी गरेको छ । वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाले सर्वाधिक राशीको पुरुष तथा महिला भलिबल प्रतियोगीताको तयारी गरेको हो ।

‘स्वस्थ प्रतिष्प्रर्धि युवा हाम्रो सान, खेल क्षेत्रको विकास दिपुङ चुइचुम्माको अभियान’ भन्ने नाराका बैशाख १५ गतेदेखि १७ गतेसम्म भलिवल प्रतियोगीता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

गाउँपालिकाका विभिन्न तीन खेल मैदानमा सञ्चालन हुने पुरुष भलिबल प्रतियोगीताका प्रथम समुहलाई करसहित १ लाख ३० हजार, दोश्रो हुने समुहलाई ८० हजार र तेश्रो हुने समुहलाई ५० हजार तथा महिला भलिबल प्रतियोगीताका प्रथम समुहलाई करसहित ५० हजार, द्धितीय समुहलाई ३५ हजार र तृतिय समुहलाई २५ हजार नगदका साथमा ट्रफि, मेडल तथा प्रमाण–पत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले बताए ।

यस्तै, भलिबल प्रतियोगीताका सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, अनुशासित महिला र पुरुष खेलाडीलाई पनि जनही ५/५ हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

याम्खास्थित खेलमैदानमा उद्घाटन गरिने भलिबल प्रतियोगीताको अधिकांश खेल ओख्रे खेल मैदानमा र फाईनल खेल स.छितापोखरीको तृतियाभन्ज्याङ खेल मैदानमा सञ्चालन गरिने गाउँपालिका खेल संयोजक पूर्णबहादुर खड्काले बताए ।
महिला/पुरुष भलिबल प्रतियोगीताको अवशरमा एकल नृत्य प्रतियोगीता समेत सञ्चालन गरिने छ । नृत्य प्रतियोगीतामा प्रथम हुने प्रतिभालाई १० हजार, दोश्रोलाई ७ हजार र तेश्रोलाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।