दिप्रुङमा सर्वाधिक राशीको भलिबल प्रतियोगीता सुरु

कृष्णकला राई ।

बैशाख १५ आइतवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सर्वाधिक राशीको गाउँपालिका स्तरिय भलिबल प्रतियोगीता सुरु भएको छ ।

बार्षिक कार्यक्रम अनुसार गाउँपालिकाले सर्वाधिक राशीको अन्तर गाउँपालिका स्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगीता सुरु गरेको हो ।

‘‘स्वस्थ प्रतिष्प्रर्धि युवा हाम्रो सान, खेल क्षेत्रको विकास दिपुङ चुइचुम्माको अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगीता आईतबार दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित खेलमैदानमा जनप्रतिनिधि र कर्मचारीबीच खेल खेलाएर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

प्रतियोगीताको सुरुमा उदयपुरको ताप्ली गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका बी टीम बीचमा भएको पहिलो खेलमा ताप्ली गाउँपालिकाले जित हासिल गरेको छ ।

मंगलबार समापन हुने पुरुष भलिबल प्रतियोगीताका प्रथम समुहलाई १ लाख ३० हजार, दोश्रो हुने समुहलाई ८० हजार र तेश्रो हुने समुहलाई ५० हजार तथा महिला भलिबल प्रतियोगीताका प्रथम समुहलाई ५० हजार, द्धितीय समुहलाई ३५ हजार र तृतिय समुहलाई २५ हजार नगदका साथमा ट्रफि, मेडल तथा प्रमाण–पत्र प्रदान गरिने छ ।

यस्तै, भलिबल प्रतियोगीताका सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, अनुशासित महिला र पुरुष खेलाडीलाई पनि जनही ५/५ हजारका साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

भलिबलका अधिकांश प्रतियोगीता याम्खा खेलमैदानमा सञ्चालन गरिए पनि समापन खेल भने दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ ओख्रे खेल मैदानमा सञ्चालन गरिने जनाइएको छ । प्रतियोगीतामा पुरुषतर्फ १३ टिम र महिलातर्फ ४ टिमबीचमा प्रतिष्पर्धा हुने खेलकुद प्रतियोगीताका संयोजक शम्सेरबहादुर कार्कीले बताए ।

महिला/पुरुष भलिबल प्रतियोगीताको अवशरमा एकल नृत्य प्रतियोगीता समेत सञ्चालन गरिने छ ।

नृत्य प्रतियोगीतामा प्रथम हुने प्रतिभालाई १० हजार, दोश्रोलाई ७ हजार र तेश्रोलाई ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।