नेपाल तरुण दल खोटाङद्धारा सरकारको ध्यानाकर्षण

बैशाख १५ आइतवार, २०७६
खोटाङ । नेपाल तरुण दल खोटाङले विभिन्न माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

राज्य तहबाटै संरक्षित भई बलात्कार, भ्रष्टाचार, मंहगी, अन्याय एवम् अत्याचारका घटनाहरु दिनानुदिन बढि रहेकाले त्यसको विरुद्धमा नेपाल तरुण दलले आइतवार ज्ञापनपत्र बुझाउदै सरकारको ध्यानाकर्षण गराएको हो ।

कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० महिना भईसक्दा बलात्कारी र हत्यारा पत्ता नलाग्नु, वर्तमान सरकारको सवै तह र तप्कामा भ्रष्टाचार मौलाउनु, नेपाल वायु सेवा निगमको वाईडबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार किनारा नलाग्नु, एनसेलले बुझाउनुपर्ने ७० अर्ब भन्दा बढी राजस्व विभिन्न वहाना गर्दै एनसेलसँग असुल उपर नगरी जनताको समृद्धिको चाहाना माथि कुठाराघात भएको तरुण दलले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

यस्तै, राजधानीका जनताको दशकौ देखिको मेलम्चीको खानेपानी अधुरो हुनु, सार्वजनिक र सरकारी जमिनहरुको संरक्षण नगरी लालपुर्जा बाड्ने कामको तथ्य प्रधानमन्त्री निवास परिसरको जग्गा काण्डबाट प्रष्ट हुनुमा सरकारकै भूमिका रहेकाले तत्काल आवश्यक छानविन गरी दोषिलाई कारवाही र पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गरिएको तरुण दल खोटाङका अध्यक्ष भिषण राईले बताए ।


प्रमुख जिल्ला अधिकारीमार्र्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै तरुण दलले जग्गा काण्डमा संलग्न नेकपाका महासचिव विष्णु पौडेल लगायतका व्यक्तिहरुलाई हदैसम्मको कारवाहीको माग गर्दै देशमा बढ्दै गएको भ्रष्टाचार, महंगी, अन्याय एवं अत्याचारको विरुद्ध गम्भीर ढंगबाट प्रस्तुत भई जनताको संवैधानिक अधिकारको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी दिएको छ ।

तरुण दले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले हल्लाको पछि लाग्नु भन्दा पनि तथ्यपरक माग हुनु राम्रो हुने बताउदै तरुण दलको मागलाई तत्काल सम्वन्धित निकायमा पठाउने प्रतिवद्धता जनाए ।