किरात राई विद्यार्थी संघको राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार तीब्र

बैशाख १८ बुधवार, २०७६
खोटाङ । खोटाङमा हुने किरात राई विद्यार्थी संघको ९ औं राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार तीब्र पारिएको छ ।

‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किराँत स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित आगामी बैशाख २६ गतदेखि तीन दिनसम्म दिक्तेलमा सञ्चालन हुने राष्ट्रिय सम्मेलनको तयारी स्वरुप जिल्लामा प्रचार–प्रसार तीब्र पारिएको हो ।

राष्ट्रिय सम्मेलनको तयारी स्वरुप किरात राई यायोक्खा खोटाङसँगको सहकार्यमा भित्ते लेखन र व्यानर टाँग्ने काम गर्दै आएको किरात राई विद्यार्थी संघले हाल पर्चा–पम्प्लेट टाँस्ने कामलाई तीब्रता दिएको छ ।

प्रचार–प्रसार गर्दै राष्ट्रिय सम्मेलनलाई भव्य र सभ्य बनाउनका लागि दिक्तेल तथा अन्य केन्द्रमा पर्चा–पम्प्लेट टाँस्ने काम भइरहेको किरात राई विद्यार्थी संघले जनाएको छ ।

विभिन्न १९ जिल्लाका किरात राई विद्यार्थी संघको प्रतिनिधि एबं पर्यवेक्षक गरी करिव ५ सयको सहभागीता रहने भएकाले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि किरात राई विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष विर्सिका राई लगायतको टोली सम्मेलनको तयारीमा खटिएका छन् ।

किरात राई विद्यार्थी संघको राष्ट्रिय सम्मेलनका कारण हुने जमघटले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने भएकाले सम्मेलनलाई भव्य बनाउन लागिपरेको किरात राई विद्यार्थी संघले जनाएको छ । सम्मेलनको तयारीमा किरात राई यायोक्खाले समेत साथ दिएको छ ।