प्रथम दिप्रुङ चुइचुम्मा स्टार–२०७५ को पहिलो अडिसन सम्पन्न

बैशाख २२ आइतवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रथम दिप्रुङ चुइचुम्मा स्टार–२०७५ को पहिलो अडिसन सम्पन्न भएको छ ।

गायनका नयाँ प्रतिभालाई अवशर दिन र प्रतिभाको सम्मानका लागि गाउँपालिकाले ‘साहित्य कला अनि संस्कतिको सार, भाषा–धर्म बहुलता नै विकासको आधार’ भन्ने नारासहित गरिएको दिप्रुङ चुइचुम्मा स्टारको पहिलो अडिसन आइतवार सम्पन्न गरेको हो ।

कृष्ण मावि टेम्मामा भएको पहिलो अडिसनबाट १४ प्रतिष्प्रधिमध्ये १० जना र पञ्चमीबजारमा अडिसनबाट २२ प्रतिष्प्रधिमध्ये १९ जना छनौट भएको कार्यक्रम संयोजक तथा गाउँपालिका उपप्रमुख सपना राईले जानकारी दिईन् ।

कार्यक्रम संयोजक राईका अनुसार भोली बैशाख २३ गते पञ्चमी बजारमा दोश्रो अडिसन र जेठ ९ गते गाउँपालिकाको प्रांगणमा फाईनल अडिसन सञ्चालन गरिनेछ ।

पञ्चमीबजारमा भएको पहिलो अडिसनमा गायक रोशन राई (पालुवा स्टार), गीतकार तथा संगीतकार सुवास राई, गायक निश्चल राई तथा टेम्मामा भएको अडिसनमा गायक केवी राई र तोरेम्पा चाम्लिङ राई निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

दिप्रुङ चुइचुम्मा स्टारका प्रथम स्थान प्राप्त गर्ने प्रतिभाले नगद ६५ हजारका साथमा एक वटा गीत रेकर्डिङको अवशर, दोश्रो हुने प्रतिभाले नगद ३० हजार र तेश्रो हुने प्रतिभाले नगद १५ हजार प्राप्त गर्ने गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

दिप्रुङ चुइचुम्मा स्टारमा सोही गाउँपालिकाभित्रका प्रतिभाले मात्र सहभागीता जनाएको आयोजकको भनाइछ ।