किरात राई विद्यार्थी संघलाई नेपाल विद्यार्थी संघ खोटाङद्वारा ६० काटन पानी

बैशाख २३ सोमवार, २०७६
खोटाङ । नेपाल विद्यार्थी संघ खोटाङले नवौं राष्ट्रिय महाधिबेसनमा जुटेको किरात राई विद्यार्थी संघ केन्द्रीय समितिलाई मिनेरल वाटर जुटाइदिएको छ । दिक्तेलमा राष्ट्रिय महाधिबेसनको तयारी गरिरहेको किराबि संघलाई नेबिसंघले समन्वय गरेर पूर्वसभाषद एबं कांग्रेस नेतृ सरस्वती बजिमयबाट सहयोग स्वरुप ५० काटन मिनेरल वाटर जुटाई दिएको हो ।

राष्ट्रिय सम्मेलनकाक्रममा पिउने पानीको व्यवस्थापनका लागि समन्वय गरेर किरात राई विद्यार्थी संघलाई मिनेरल वाटर जुटाइएको नेविसंघ खोटाङका सभापति राजकुमार बस्नेतले बताए ।

दिक्तेलको भवनगैरामा नेविसंघले किरात राई यायोक्खा खोटाङका सल्लाहकार सूर्य राई, आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष हात्तीराम राई, किरात राई यायोक्खाका जिल्ला सचिव युगसन किरात लगायतको उपस्थितिमा मिनेरल वाटर हस्तान्तरण गरेको छ ।

नेविसंघकै समन्वयमा खोटाङ अक्वा मिनरल वाटर उद्योगका सञ्चालक फूर्वा शेर्पाले पनि किरात राई विद्यार्थी संघलाई १० काटन मिनेरल वाटर निशुल्क प्रदान गरेका छन् ।

फरक संगठनकाबीचमा सौहाद्रता स्थापित गर्नका लागि पानी जुटाईदिएको नेविसंघले जनाएको छ । नेविसंघले ४८ हजार १ सय ७७ रुपैयाँ रकम संकलन गरेर आईतबार किरात राई विद्यार्थी संघलाई प्रदान गरेको तरुण दल खोटाङका उपसभापति सञ्जयकुमार राईले बताए ।

‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किराँत स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित दिक्तेलमा किरात राई विद्यार्थी संघको राष्ट्रिय महाधिबेसनको तयारी भइरहेको छ ।