बाक्सिलामा गुञ्जिए लोपोन्मुख भाका

बैशाख २३ सोमवार, २०७६
खोटाङ । अक्सर सांगीतिक कार्यक्रममा दर्शक÷श्रोतालाई जुरुक्क–जुरुक्क नचाउने गीत संगीत प्रस्तुत गरिन्छ । तर, शनिबार खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजित स्टेज प्रोग्राममा भने भिन्नै किसिमको सांगीतिक प्रस्तुती देखिए ।

पृथ्बी माविको सभा हलमा गायक तथा संगीतकार पदम थुलुङले लोपोन्मुख भाका प्रस्तुत गरे ।

टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङको पाँचौ वार्षिकोत्सवको अवशर आयोजित कार्यक्रममा थुलुङले ‘आयोसा भाका’, ‘ख्याली’, ‘चुट्के’ लगायतका लोपोन्मुख भाका प्रस्तुत गरेका छन् ।

बाबुबाजेको अन्त्यासँगै लोपोन्मुख बनिसकेको भाकाको संकलन र संरक्षणमा क्रियासिल थुलुङलाई लाईभ पर्फमेन्समा गायीका अम्बीका राईले साथ दिएकी थिईन् ।

प्रतिष्ठानको वार्षिकोत्सवको अवशरमा एकल प्रस्तुतीका लागि स्टेजमा उतारिएका थुलुङले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा गाईने लोपोन्मुख भाका सुनाएर दर्शक/श्रोतालाई मन्त्रमुग्ध बनाए ।

सोलुखुम्बुका खालिङ र थुलुङ राई समुदायमा सुनिने आयोसा भाकाको ‘चामलै चौले चौलिन्छ’ बोलको गीतबाट आफ्नो प्रस्तुति थालेका थुलुङले खोटाङ र ओखलढुंगाको दुधकोसीस्थित सुनकोसी किनारमा लाग्ने रभुँवाबजारमा राई र मगर समुदायले गाउने ‘एक भाई माईती’ बोलको ख्याली भाका, ‘पानी प¥यो दर्केर’ बोलको किरात समुदायमा प्रचलित चुट्का भाका, दुधकोसीको किनार आसपासका बस्तीमा सुनिने ‘उकाली ज्यानको चप्लेटी ढुंगा’ बोलको पुरानो भाका गाए ।

साँझ साँढे ६ बजेदेखि लोपोन्मुख भाका गुञ्जाउन थालेका थुलुङलाई दर्शक÷श्रोताले तालीले साथ दिएका थिए । लोपोन्मुख भाका सुन्नका लागि आएका दर्शक/श्रोता साँझसम्म कार्यक्रम हलमै प्रतिक्षा गरेर बसिरहेका देखिन्थ्यो । बाहिर घरि–घरि पानी पर्दा हलभित्र गायक तथा संगीतकार थुलुङले लोपोन्मुख भाकामार्फत दर्शक/श्रोतालाई झुमाइरहेका थिए ।

गायक तथा संगीतकार थुलुङलाई श्याम बर्देवा, अव्राहम सम, भीमसेना राई, दशरथ राईले वाद्यवादनमा साथ थिएका थिए । कुनै समय पूर्वी नेपालको किराती समाजमा प्रचलनमा रहेका भाकाहरु अहिले लोप हुन लागेकामा थुलुङले चिन्ता व्यक्त गरे ।

शास्त्रीय संगीतमा लामो समय साधना गरेका थुलुङ नेपालका लोकभाकालाई संगालेर मात्र नेपाली संगीतको मौलिक पहिचान बन्ने बताए । गणेशकुमार राईको शब्द संयोजनमा सरला राईसँग उनले गाएको ‘माया छ रुमालैमा’ बोलको लोक भाका हाल लोकप्रिय छ ।

कार्यक्रममा साहित्यीक संस्था ‘अलग अभियान’कातर्फबाट गायक रेवत राई, भिमसेना राई, अव्राहम समले गीतमार्फत दर्शक श्रोतालाई मनोरञ्जन दिलाए ।

‘अलग अभियान’कै कवि नाकिमा नाकिम, इनुमा राईले कविता सुनाए । साईनो कला केन्द्रका पर्शुराम गजमेर, गायक भलाकाजी राई र गायीका अम्विका राईले पनि गीतमार्फत दर्शक/श्रोताको ‘वाही–वाही’ पाए ।

चर्चित युवा कवि बम बानियाँले कवितामै ‘वान्समोर’ पाए । युगसन किरात, प्रमोद श्रेष्ठ, यूनिक साम्पाङ, पाँचकुमार राई, अमर श्रेष्ठ, नविना राना लगायतले गजल बाचन गरे ।

कार्यक्रममा स्थानीय कलाकारले नृत्य तथा विभिन्न विद्यालयमा कार्यरत पश्चिमका शिक्षकले पश्चिमेली भाका प्रस्तुत गरेका थिए ।