प्रधानमन्त्री राजाभन्दा घमण्डी : कांग्रेस नेता राणा

बैशाख २५ बुधवार, २०७६
खोटाङ । नेपाली कांग्रेस नेता उदयशम्सेर राणाले वर्तमान प्रधानमन्त्री राजाभन्दा अहम र घमण्डी देखिएको बताएका छन् । खोटाङमा बुधबार कांग्रेसको राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै कांग्रेस नेता राणाले वर्तमान प्रधानमन्त्री ओली राजाभन्दा अधिनायकवादी बनेको आरोप लगाएका हुन् ।

‘राजा बिरेन्द्रमा पनि केपी ओलीको अहम र घमण्ड थिएन, राजा महेन्द्रमा पनि यो किसिमको अहम र घमण्ड थिएन,’ राणाले भने, ‘मंगलबार त्यो किसिमको घमण्ड लिएर संसदमा बोलियो । तिमी विपक्षी दल केही होईन, मैले जे भनेँ–भनेँ भन्ने दम्भ देखाइयो ।’ नेता राणाले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा कांग्रेस मात्र नभएर दुनियाँ हाँसेको बताए ।

केन्द्रिय प्रतिनिधिका रुपमा खोटाङ आएका राणाले सरकारले बुढीगण्डकीको काम विना प्रतिष्पर्धा चिनिया कम्पनीलाई दिएको, ३३ केजी सुन सामसुम पारिएको, वाईडबडीमा भएको अनियमिततामा संलग्नलाई संरक्षण गरिएको बताए ।

‘जुन कम्पनीले नेपालकै विभिन्न योजना डुबाईसकेको छ, त्यही कम्पनीलाई विना प्रतिष्पर्धा बुढी गण्डकीको काम जिम्मा लगाइएको छ, वाईडबडीमा उस्तै समस्या छ,’ पूर्व अर्थ राज्यमन्त्री राणाले भने, ३३ किलो सुन कता हरायो ? जनताबाट उठेको कुरालाई सरकारले हाउसमा पनि अत्यन्त हल्का किमिसले लिएको छ ।’

नेता राणाले कांग्रेसको नेतृत्वमा मुलुकमा संविधान निर्माण, स्थानीय तहको निर्वाचन लगायतका ऐतिहासिक काम भएपनि जनतालाई बुझाउन नसकिएको बताए ।

‘कम्यूनिष्टले पित्तललाई सुन बनाएर बेचिरहेको छ, तर कांग्रेसले सुनलाई बेच्न सकेको छैन,’ राणाले भने, ‘कांग्रेसले आफुले गरेका राम्रो कामको प्रचार गर्न सकेन । गुट–उपगुटका समस्या मात्र पव्लिकमा पु¥याइयो ।’


कार्यक्रममा नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, नेपाली कांग्रेस खोटाङका पूर्व सभापति तथा महासमिति सदस्य बिष्णुकुमार राई, पूर्व सभाषद तथा महासमिति सदस्य सरस्वती बजिमय लगायतले सम्बोधन गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राणाले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।