किरात राई विद्यार्थीको राष्ट्रिय सम्मेलन खोटाङमा

बैशाख २५ बुधवार, २०७६
खोटाङ । खोटाङमा हुने किरात राई विद्यार्थी संघको ९ औं राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किराँत स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित दिक्तेलमा बिहिबार उद्घाटन हुने राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको हो ।

संघले बुधबार जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गरेर तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ ।

पूर्वी नेपालका १४ जिल्ला र उपत्यकाको तीन जिल्लामा संगठन रहेको संघको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि एबं पर्यवेक्षक गरी करिब पाँच सयको सहभागीता रहने किरात राई विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राईले जानकारी दिएकी छन् ।

सम्मेलनले नयाँ नेतृत्व चयनसँगै संघको भावी कार्यदिशा तय गर्ने छ । सम्मेलन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिबस राईले उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

शैक्षिक, सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक र राजनैतिक विभेदका विरुद्धमा संघर्ष गर्दै आएको संघले १ नम्बर प्रदेशको नाम किरात राख्नका लागि आग्रह गरेको छ । ‘किरात भूगोल, सभ्यता र इतिहास हो ।

त्यस कारण प्रदेशको नाम किरात सर्वसम्मत नहुनु दुःखद विषय हो,’ पत्रकार सम्मेलनमा अध्यक्ष राईले भनिन्, ‘प्रदेशको नाम किरात राख्न सबै दलका सांसदहरुलाई अनुरोध गर्दछौँ । हाम्रो माग सम्बोधन नभए आन्दोलन हुने निश्चित छ ।’

संघले २०५८ साल बैशाख १३ गते राज्यतर्फबाट बेपत्ता बनाइएका संघका संस्थापक अध्यक्ष नविन राईलाई सार्वजनिक गर्न र विप्लव नेतृत्वको नेकपा माओवादीमा आवद्ध भएकामा गत चैत्रमा पक्राउ परेका संघका संखुवासभाका पूर्वअध्यक्ष एबं पूर्व केन्द्रीय परिषद सदस्य सुनिता राईको विनाशर्त रिहाइको माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघकै पहलमा खोटाङबजारमा जननायक रामप्रसाद राई स्मृति पार्क निर्माणको काम सुरु गरिएको जानकारी दिएको छ ।

किरात राई विद्यार्थी संघको राष्ट्रिय सम्मेलनका कारण हुने जमघटले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने भएकाले सम्मेलनलाई भव्य बनाउन लागि परेको संघले जनाएको छ ।