एक नम्बर प्रदेशको नाम किरात राख्न माग

बैशाख ३१ मंगलवार, २०७६
खोटाङ । किरात राई यायोक्खाको भातृ संगठन किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले १ नम्बर प्रदेशको नाम किरात राख्न माग गरेको छ । प्रदेशको नामाकरणको विषय पेचिलो बनिरहेकाबेला नवगठित संघले खोटाङमा पत्रकार सम्मेलन गरेर किरात नामाकरणको माग दोहोराएको हो ।

खोटाङमा सम्पन्न नवौं सम्मेलनको बन्दसत्रले तय गरेको ८ बुँदे घोषणापत्र सार्वजनिक गर्नेक्रममा संघका नवनिर्वाचित अध्यक्ष जितेन राईले प्रदेशको नाम किरात राखेर इतिहास र सभ्यताको सम्मान गर्न प्रदेश सांसदको ध्यानाकर्षण गराएका छन् ।

‘किरात भनेको इतिहास, भूगोल, सभ्यता वा जीवन पद्धति हो, यो कुनै एउटा जाति विशेष विषय होईन,’ सोमवार शुभम फाउण्डेसनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले भने, ‘प्रदेशको नामाकरण किरात नभए असन्तुष्टि र अशान्ति पैदा हुन्छ । यस कारण कुनै न कुनै हिसावले किरातलाई अविलम्व सम्बोधन गर्न जोडदार माग गर्दछौँ ।’

संघले खोटाङमा किरात विश्वविद्यालय स्थापना गर्न, त्रिभाषिक शिक्षा नीति कार्यान्वयन गर्न, किरातको सिरिजंघा लिपी प्रयोगमा ल्याउन, मातृभाषाको शिक्षक कोटा निर्धारण गर्न, किरातकालीन ऐतिहासिक गढी, थुम र दरबारको संरक्षण र संवद्र्धन गर्न, राज्यतर्फबाट २०५८ साल बैशाख १३ गतेदेखि बेपत्ता बनाइएका संघका संस्थापक अध्यक्ष नविन राईलाई सार्वजनिक गर्न, संयूक्त राष्ट्र संघको घोषणापत्र र आइएलओ १६९ लाई कार्यान्वयन लगायका बुँदा समेटिएको दिक्तेल घोषणापत्र सार्वजनिक गरेको छ ।

‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित खोटाङमा आईतवार सम्पन्न नवौं सम्मेलनले राईको अध्यक्षतामा ३७ सदस्यीय संघको नयाँ नेतृत्व निर्माण गरेको हो ।

संघको उपाध्यक्षमा शोभित राई र सन्तोष मुक्मिन राई, महासचिवमा रविन राई, सचिवमा प्रविणा राई र दिपेन राई, कोषाध्यक्षमा देवकुमार बाहिङ राई र सह–कोषाध्यक्षमा प्रभा राई निर्वाचित भएका छन् ।

आयोजक समितिबाट २३ जना र विभिन्न भूगोलबाट ३४ जना समावेश गरेर ५७ जनाको केन्द्रीय परिषद बनाएपछि त्यही परिषदबाट नयाँ नेतृत्व चयन गर्ने व्यवस्था भएपनि आयोजक समितिबाट आकांक्षी बढि भएपछि मतदान गराइएको थियो । आयोजक समितिबाट निर्वाचनका माध्यमबाट २३ जना प्रतिनिधिको टुंगो लगाउँदा अध्यक्षका प्रत्यासी रामचन्द्र राई बाहिरिएपछि नयाँ नेतृत्व भने सहमतीमा चयन गरिएको हो ।

सम्मेलनले संघको संगठन विभाग प्रमुखमा उदिम चाम्लिङ, प्रचार प्रसार तथा समन्वय विभाग प्रमुखमा शुभमानसुङ राई, शैक्षिक विभाग प्रमुखमा भीम दुमी राई, प्रशिक्षण विभाग प्रमुखमा निराजन किराती, भाषा, धर्म, संस्कृति विभागमा समिप साम्पाङ, अनुशासन विभागमा डार्बिन राई, महिला विभाग प्रमुखमा सुशिला राई चयन भएका छन् ।

यस्तै, स्वयंसेवक विभाग प्रमुखमा सञ्जय राई, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सिताराम राई र विदेश विभाग प्रमुखमा सुमन राई चयन भएका छन् ।

सुदिप थुलुङ राई, तिलक राई, ममता राई, बिसा बिख्याति राई, इसाक राई, दिपक राई, रोशन राई, सागर राई, किरण राई, रमला राई, नबिन राई, बशन्त राई, सजिना राई, हेमराज राई, श्यामकला राई, इन्द्रहाङ राई र रमेश राई केन्द्रीय सदस्यमा चुनिएका छन् ।

संघका नवनिर्वाचित समितिलाई यायोक्खाले आफ्नै कार्यालयमा कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएको छ ।