देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने

 

प्रकाशित मिति : २०७५ भदौ १७ आईतवार

 

खोटाङ । नेपाल चिकित्सक संघले  देशभरका  स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ। सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा उत्रिएको संघले आइतबार आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको हो।

 

संघका महासचिव डा. लोचन कार्कीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कानुनमन्त्री भानुभक्त ढकालसँग शुक्रबार सिंहदरबारमा भएको बैठकमा सकारात्मक परिणाम निस्कन नसकेकाले हडतालमा उत्रनुपरेको बताए। उनले भने, ‘सरकारले सहमति बमोजिम संहिता संशोधन प्रक्रिया अघि बढाएन । बैठकमा सकारात्मक परिणाम निस्कन नसकेपछि संघले सोमबारदेखि शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ।

 

महासचिव कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, बुधबारदेखि आकस्मिकबाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेकका ओपिडीलगायतका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने उल्लेख छ।

 

 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ बनिसके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढिरहेकाले यस्ता घटनामा संलग्न दोषीमाथि कारबाही गर्नका लागि बिना धरौटी जेल चलानको व्यवस्था नभएसम्म स्वास्थ्य सेवा सञ्चालन गर्न नसक्ने अवस्था रहेको हाम्रो ठहर छ।’

 

 

कानुनमन्त्री ढकालले भदौ १३ गते संसद्को विधायन व्यवस्थापन समितिलाई लेखिएको पत्रमा आफूहरूको समस्यालाई समाधान गर्नेतर्फ पहल नभएको निष्कर्ष संघले निकालेको छ। संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठले शुक्रबार भएको बैठकमा मन्त्री ढकालले मौलिक हकसम्बन्धी कानुनको कारण देखाउँदै अपराध संहिता संशोधन गर्ने विषयमा चासो नदेखाएको बताए।