लफ्याङमा खेलमैदान निर्माण सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा खेलमैदान शिलान्यास गर्दै वडाध्यक्ष निर्मल राई लगायतका जनप्रतिनिधि ।

जेठ ८ बुधवार, २०७६
खोटाङ । खोटाङको लफ्याङमा खेलमैदान निर्माण सुरु गरिएको छ । स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निशुल्क दिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छिवामा १२० मिटर लम्बाई र ८० मिटर खेलमैदान निर्माण सुरु गरिएको हो ।

वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा निर्माण सुरु गरिएको खेलमैदान वडाध्यक्ष निर्मल राईले मंगलबार शिलान्यास गरेका हुन् ।

स्थानीय पञ्चसेर राईले ९ रोपनी, सर्वजित राईले ५ रोपनी र हर्कराज राईले ३ रोपनी जग्गा वडाको नाममा निशुल्क पास गरिदिएपछि मझुवागढी रणजितमान नाम दिइएको खेलमैदान निर्माण सुरु गरिएको हो ।

दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने खेल मैदानका लागि बालाचन्द्र राईले पनि ७ रोपनी जग्गा प्रदान गरेका छन् । वडा कार्यालयको आग्रहमा जग्गादाताले जेठ ७ गते खेतीयोग्य जमिन वडाको नाममा पास गरि दिएका हुन् । विनियोजित रकमबाट मकैको विरुवा हुर्कँदै गरेको जग्गामा खेलमैदान निर्माण सुरु गरिएको वडाध्यक्ष राईले बताए ।

निशुल्क जग्गा उपलव्ध गराएकामा जग्गदाताकै बाजे रणजितमानको नामबाट खेलमैदानको नामाकरण गरिएको हो । खेल मैदानका लागि वडाकै विभिन्न स्थानमा निशुल्क जग्गा जुटाउनेक्रममा छिवामा प्राप्त भएको जनाइएको छ ।

वडाको बजेटबाट निर्माण सुरु गरिएको खेलमैदान नगर, प्रदेश, संघ लगायतबाट रकम जुटाएर सम्पन्न गरिने निर्माण उपभोक्ता समितिका सचिव काजीमान राईले बताए ।